इलाम-२ उपनिर्वाचन : रास्वपाको जमानत जफत

इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ ।  माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पुर्‍याउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी)जफत भएको हो ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।  निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर