नयाँ सरकार गठनको दौडधुप चलिरहँदा भारतीय राजदूतले भेटे देउवा र प्रचण्ड

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको दौडधुप सुरु भएको छ। यही दौडधुपकै बीच नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तवले उच्चस्तरीय भेटवार्तालाई तीव्र बनाएका छन्।

उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् तर याे विषय ढिलाेगरी बाहिरिएकाे हाे।

देउवालाई भेट्न राजदूत श्रीवास्तव शुक्रबार अपराह्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले यो भेटलाई नियमित प्रकृतिको भनेका छन्। तर, निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ। शुक्रबार अपराह्न राजदूतसँग भेटपछि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार बिहान भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरू निकट नेताहरूले बताएका छन्।

यसैबीच देउवापछि राजदूत श्रीवास्तवले प्रचण्डसँग पनि भेट गरेका छन्। उनीहरूबीच शनिबार दिउँसो भेट भएको हो।

भेटमा भारतीय राजदूतले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेको स्रोतले जानकारी दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *