नागरिकको भरोसा जोगाउन प्रधानमन्त्रीमा मेरो दाबी : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको बताएका छन्।

उनले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन्।

उनले नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए। मंगलवार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्ने कुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रुपमा खुलेर भोट हालेको भन्दै अहिलेको बेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरुले आफूलाई पुरानो गुन लगाउनेमा विश्वस्त रहेको बताए।

महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरुको साथ आफूलाई रहेको पनि बताए। उनले अधिकांश कांग्रेस सांसदहरुसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरुलाई भने भेटेरै कुरा गरिसकेको भन्दै सबै नेताहरुले सहयोगको वाचा गरेको बताए।

महामन्त्री थापाले अबको देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए। उनले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने बताए।

महामन्त्री थापाले नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरुसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरुकै समर्थन र आशिर्वादमा आफूले काँग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे।

महामन्त्री थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन्। निर्वाचनअघिबाट नै अबको नेतृत्व आफूले गर्ने बताउँदै आएका महामन्त्री थापाले निर्वाचित भएको दिन नै संसदीय दलको नेताको लागि तयारी थाल्ने बताएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर