विश्व टेबल टेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोटको तयारी पूरा

विश्व टेबल टेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोटअन्तर्गत काठमाडौंमा आयोजना हुन लागेको साउथ एशियन रिजनल च्याम्पियनसिप २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

अखिल नेपाल टेबलटेनिस संघले पत्रकार सम्मेलन गरेर मंसिर तेस्रो साता आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा विभिन्न ६ देशका ६० खेलाडीले सहभागिता जनाउँदै छन् । छनोटबाट अर्को चरणमा पुरुष/महिला दुवैतर्फ १६/१६ जना खेलाडी स्थान बनाउने नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले पत्रकार सम्मेलनमा जानकारी दिए । वैद्यले एशियन टेबल टेनिस फेडेरेशनले धेरै विश्वास गरेर नेपालमा प्रतियोगिताको जिम्मा दिएको बताए ।

लैनचौरमा मंसिर २२ देखि २५ गतेसम्म हुने चार दिने प्रतियोगितामा दक्षिण एशियाका मुलुक नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका खेलाडी सहभागी हुने निश्चित भइसकेको संघका अध्यक्ष वैद्यले बताए । त्यसबाहेक भुटानले पनि सहभागिताका लागि चासो देखाएको तर बजेट अभावले निश्चित नभएको उनले बताए । नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा नेपाली खेलाडीले उच्च मनोबलसहित तयारी गरिरहेकाले छनोट हुनेमा मुख्य प्रशिक्षक सञ्जीव ढुङ्गेलले बताए । सागका पदकधारी स्यान्टु श्रेष्ठ प्रतियोगितामा नभए पनि अन्य खेलाडीले पनि तयारी राम्रो गरेको प्रशिक्षक ढुङ्गेलले जानकारी दिए ।

प्रतियोगितामा नेपालबाट रुबिन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानियाँ र शिवसुन्दर गोथे र महिलातर्फ नमिता श्रेष्ठ, एलिना महर्जन, रबिना महर्जन, शिखा सुवाल र इभाना थापामगरले सहभागिता जनाउँदै छन् । प्रतियोगिता आयोजनाका लागि एशियन टेबल टेनिस युनियन (एटीटीयू) ले पाँच हजार डलर दिने कुरा भएको अध्यक्ष वैद्यले जानकारी दिए । त्यसबाहेक नेपाल टेबल टेनिस संघले आफैँ खर्च व्यहोर्ने र राष्ट्रिय खेलकुद परिषद्बाट ९ लाख रूपैयाँ सयहोग मिल्ने संघले बताएका छ । यसबाहेक एनसेल, नेपाली घर, बोर्डलिङ्क, नेबिको, कल मोबिलिटी र आरजे स्पोट्र्सले प्रायोजन गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *