मतदाताको विश्वास नटुट्ने गरी काम गर्छु : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं.४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताए ।

उनले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताए । मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने बताए ।

उनले भने, ‘जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु र उहाँहरुको विश्वासलाई म घात गर्नेछैन । यहाँका आदरणीय दिदीबहिनी, दाजुभाइहरु जसले मलाई दोस्रो पटक निर्वाचित गर्नुभएको छ, उहाँहरुसँग पनि म प्रत्यक्ष संवाद गरेर भएका समस्याहरुलाई निराकरण गर्दै यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु । मैले धेरै कामहरु यो क्षेत्रमा गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ । म पाँच वर्षको कार्यकालमा अरु बढी कामहरु गर्नेछु ।’

मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे । मन्त्री कार्कीले कुसियैतलाई ११२ मतअन्तरले पराजित गरेका हुन् ।

त्यस्तै सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३ हजार २३२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १८१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर