यू-१९ क्रिकेट : लुम्बिनीसँग प्रदेश १ पराजित

राजधानीमा जारी एक दिवसीय वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश १ लाई हराएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमो लुम्बिनीले प्रदेश १ लाई ६ विकेट पराजित गरेको हो । यससँगै लुम्बिनीले जारी प्रतियोगितामा पाँच खेलबाट चौथो जित निकालेको छ । लुम्बिनीले तालिकामा ८ अंक बनाएको छ । समान खेलबाट वागमती प्रदेशको पनि समान ८ अंक नै छ । रन रेटको आधारमा वागमती दोस्रो स्थानमा छ ।

चौथो खेलमा पनि सुखद् नतिजा निकाल्ने क्रममा प्रदेश १ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । लुम्बिनीका लागि ओपनरद्वय आकाश त्रिपाठी र लोकेश बमले ४० रनको साझेदारी गरेका थिए । आकाशले १७ रन जोड्दा लोकशले व्यक्तिगत १९ रनको योगदान गरेका थिए । त्यस्तै प्रज्वल थापाले १५ रन जोड्दा सुनिल भण्डारी र विशाल भुषाल ६ र ८ रनम अविजित रहे । लुम्बिनीको चार विकेट पतन हुँदा दिपेश कँडेल एक्ललेै ३ विकेट लिए भने एक विकेट विपीन महतोको नाममा रह्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले २६.२ ओभरमा सबै विकेट गुमाएर मात्र ६९ रन जोड्नसक्यो । खराब शुरुवात गरेको प्रदेश १ का लागि शुभन गहतराजले सर्वाधिक २२ रनको योगदान गर्दा इस्टेन रिजालले १९ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । प्रदेश १ को इनिङ्सलाई न्युन स्कोरमा रोक्नका लागि निर्मल गुरुङ एक्लैले ५ विकेट निकाल्दा दुर्गेश गुप्ताले २ तथा अभिषेक गौतम र तुलबहादुर थापाले समान १/१ विकेट हात पारे ।

प्रतियोगिताअन्तर्गत बिहीवार नै मूलपानी मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई १ सय ९ रनले स्तब्ध बनायो । यससँगै गण्डकीले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । यसअघिका सबै खेल गुमाएको गण्डकीको अघिल्लो यात्रा समाप्त भइसकेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले जितका लागि दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २५ रन जोड्नसक्यो । कर्णालीका लागि सुवास ऐरले ३२ रन जोड्दा कप्तान विपीन रावलले १९ रन जोडे । मनिष थापाले १८ रन जोड्दा युनिस सिंहले १२ बनाए भने अन्यको खातामा सम्झन लायक प्रदर्शन भएन । गण्डकीले १८ रन अतिरिक्तमा दिएको थियो । बलिङतर्फ गण्डकीको जितमा कप्तान सुवास भण्डारीले ६ विकेट लिए । सिब्रिन श्रेष्ठले ३ तथा निर्तिश गिरीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । गण्डकीका लागि गोविन्द विक र अर्जुन कुमालले अर्धशतक बनाए । गोविन्द विकले ५५ तथा कुमालले ५० रनको गोगदान गरे । दीपक डुम्रेले ४४ रन बनाए । सिब्रिन श्रेष्ठले २६ रन तथा कप्तान सुवास भण्डारी २१ रनमा अविजित रहे । कर्णालीका लागि आवास साहले ३ तथा मोहन विकले २ विकेट लिए । विनित खत्रीले १ विकेट लिए ।

पाँचौ खेलबाट पहिलो जित निकालेको गण्डकीले पहिलो अंक जोडेको छ । २ अंकसहित गण्डकी पाचौं स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा १ जित तथा ४ हारका साथ २ अंकसहित अंक तालिकाको छैठौं स्थानमा रहेको छ ।

प्रतियोगितामा शुक्रवार पनि दुई खेल हुनेछन् । यी दुई मध्ये वागमती र सुदूरपश्चिमको खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछौं । यी दुईको खेल मुलपानी मैदानमा हुनेछ र कीर्तिपुर मैदानमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर