सरकार आलोपालो चलाउने सहमति भएको छ : माओवादी नेतृ रेखा शर्मा

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने बताएकी छन् ।

शुक्रबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि बताएकी हुन्।

उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निणर्य पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिकाटिप्पणी हुन आवश्यक नरहेको बताइन्। उनले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको टुंगो लाग्ने बताइन्।

‘कुनै एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव छैन, त्यसैले छलफलमा छौँ। प्रधानमन्त्री को हुन्छ भन्ने विषय छ, त्यो सहमतिका आधारमा ल्याउनुपर्छ भन्नेकुरा हो । आलोपालो प्रधानमन्त्री बन्ने भन्ने कुरा शीर्ष नेताहरु बसेर छलफल गर्नुभएको छ, बाहिर सार्वजनिक भएकै कुरा हो कोबाट शुरुवात हुन्छ भन्ने कुरा सहमतिमा गर्नुपर्छ। को व्यक्ति हुन्छ भन्ने कुरा प्रधान होइन, गठबन्धनले के गर्छ भन्नेकुरा महत्त्वपूर्ण छ। देश विकास, समृद्धि, संविधानको रक्षाका कुराहरु धेरै महत्वपूर्ण छन्। देशको समृद्धिका लागि नयाँ ढंगले सोच्नुपर्ने जरुरी छ। पार्टीलाई कमजोर बनाउनु भनेको व्यवस्था कमजोर हुनु हो। व्यवस्था कमजोर भनेको देश कमजोर हो। गठबन्धनबाट दायाँबायाँ हुनु हुँदैन,’ नेतृ शर्माले भनिन्।

उनले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रहसमेत गरिन्। नेतृ शर्माले पार्टीले मन्त्री पद दिए आफू जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताइन्।

नेतृ शर्माले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको बताइन्। उनले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको दाबी गरिन्।

नेतृ शर्माले राजनीतिक दलहरूले युवाहरूलाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिइन्। उनले युवाहरूको जबर्जस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने स्पष्ट पारिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर