‘जनताले परिवर्तनको सन्देश दिएका छन्, दलहरूले आत्मसात् नगरे विद्रोह र वितृष्णा अझ बढ्छ’

नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसदको दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

प्रतिनिधि सभा सदस्यको यही मंसिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको संघीय संसदमा प्रतिनिधित्व हुने देखिएको छ।

नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अंकको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरू भइसकेको छ।

यसै सन्दर्भमा विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आएका चन्द्रकान्त (सीके) राउतको जनमत पार्टी पनि यसपटक राष्ट्रिय पार्टीको मान्यताका साथ सदनमा प्रवेश गर्दैछ।

लाउड स्पिकर चुनाव चिह्नमार्फत् प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याई मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्तिका रूपमा देखिएको छ।

मधेस आन्दोलनका अगुवाका रूपमा स्थापित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक सदन प्रवेश गर्न लागेका हुन्।

सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मेका राउत पेशाले इञ्जिनियर हुन्।

अध्यक्ष राउतले आफूहरूले उठाएका स्वास्थ्य, शिक्षा, सुशासन र किसानका मुद्दालाई जनताले हामीमाथि भरोसा राखेर निर्वाचनबाट अनुमोदन गरेको प्रतिक्रिया दिए।

उनले भने, ‘हामीले उठाएका मुद्दालाई विश्वास गरेर जनताबाट अनुमोदन भएको छ, संसदमा बहुमत पुर्‍याउनका लागि पनि हाम्रो सिट नै निर्णायक हुन्छ।’

निर्वाचनपछि नयाँ सरकार गठनका लागि दल र नेताबीच भइरहेको भेटवार्ता, सङ्ख्याको जोड घटाउलगायत समसामयिक विषयमा अध्यक्ष राउतसँग गरिएको कुराकानीको सम्पादित अंश:

निर्वाचनमा भाग लिनुभयो, राम्रो नतिजा हासिल गर्नुभएको छ, सर्वप्रथम त तपाईंलाई हार्दिक बधाई र शुभकामना। अहिलेको निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?

निर्वाचन आफैंमा लोकतान्त्रिक प्रक्रिया हो, त्यसमा भाग लिन र जनमत हासिल गर्न पाउँदा निकै खुसी लागेको छ। जनमत हासिल गर्ने यो औपचारिक माध्यम हो। यसबाट हाम्रा एजेण्डा जनताबाट अनुमोदित छन् कि छैन भन्ने परीक्षण भएको छ। जनताले हामीमाथि भरोसा राखेर खरो रूपमा उत्रेकामा खुसी लागेको छ।

यहाँले राजनीति अघि बढाउँदाको अवस्था र अहिलेको परिवेश फेरिएको छ, यसलाई कसरी तुलना गर्नुहुन्छ?

विगतमा जनमत छ वा छैन भनी मापन गर्ने आधार थिएन। हामी राजनीतिक मूलधारको प्रक्रियामा पनि सहभागी थिएनौं। आमसभा र कार्यक्रम हुन्थ्यो तर जनसमर्थन कति छ भनेर औपचारिक मापन थिएन। त्यसबेला सरकारबाट विभिन्न बाधा अड्चन हाल्ने काम हुन्थ्यो। अहिले मूलधारमा आइसकेपछि खुला राजनीति गर्न पाएका छौं। जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौं। निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौं। शिक्षा, स्वास्थ्य र रोजगारीको एजेण्डालाई लिएर निर्णय गर्ने ठाउँतिर अघि बढेका छौं। त्यो ठाउँसम्म पुग्नेछौं।

अहिले राजनीतिक मूलधारमा आएपछि कस्तो महसुस गर्नुभएको छ?

अहिले खुला राजनीतिमा आएपछि जनतामाझ जान र कुरा बुझ्न पाइन्छ। निर्वाचनमार्फत् जनमत पनि परीक्षण गर्न पाएका छौं। त्यो एउटा व्यापक फरक अनुभूति हामीले गरेका छौं। राज्य र संविधानले दिएको अधिकारको पूर्ण उपभोग गरेका छौं।

पहिलोपटक आम निर्वाचनमा गइरहँदा यहाँले उठाएको एजेण्डालाई जनताले कसरी बुझेको पाउनुभयो, मतदाताको अपेक्षा के रह्यो?

जनताले हाम्रा एजेण्डालाई सकारात्मक रूपमा लिएको पाएका छौं किनकि यसअघिका राजनीतिक दलले लोकतन्त्र, संघीयता र गणतन्त्रजस्ता जति पनि एजेण्डा ल्याए, ती विशुद्ध राजनीतिक एजेण्डा मात्र थिए। यसबीचमा शिक्षा, स्वास्थ्य, रोजगारीका विषयलाई कसैले पनि प्राथमिकता दिएनन्। हामीले सेवा प्रवाहका अतिरिक्त भ्रष्टाचार न्यूनीकरण, सुशासन र किसानका मुद्दालाई उठायौं, त्यसलाई जनताले सकारात्मक रूपमा ग्रहण गरेको अवस्था छ। यी मुद्दालाई अरूले नउठाएका कारण पनि जनमत पार्टी नै ठीक हो भनी जनताले विश्वास गरेका हुन्।

जनताले दिएको अभिमतलाई यहाँले अहिले कसरी ग्रहण गर्नुभएको छ र निर्वाचनलाई कसरी लिनुभएको छ? यो निर्वाचनलाई सफल/असफल कसरी मापन गर्नुहुन्छ?

विगतको तुलनामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन कम भड्किलो, संयमित र विश्वसनीय रहेको तथा आचारसंहिता पालनामा पनि प्रगति भएको भनी पर्यवेक्षकहरूले प्रतिवेदन बुझाएको अवस्था छ।

जनताले हामीलाई जुन मत दिएका छन् त्यसलाई म परिवर्तनका लागि दिएको मान्दछु। त्यो जनमतलाई हामी खेर जान दिन्नौं।

जनताको अपेक्षा एकातिर छ, तपाईंहरूको भूमिका अर्कोतिर छ। कानून बनाउने, नीति बनाउने भूमिका हो, जनताको माग सिँचाइतर्फ देखिन्छ यसलाई कसरी तालमेल मिलाउनुहुन्छ?

आम बुझाइ त्यस्तै छ तर संसद भनेको खाली ऐन कानुन बनाउने थलो मात्रै होइन। मुलुकका यावत् समस्या सम्बोधन गर्न के कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ भनी गहन छलफल र मन्थन गर्ने ठाउँ पनि संसद नै हो भन्ने महत्वपूर्ण पक्षलाई कसैले बिर्सन हुँदैन। संसदमा पुगेर नै आफ्नो नीति कार्यान्वयन गर्न सकिन्छ। त्यहीँबाटै नीति योजना कार्यक्रम पारित हुने हो नि।

उदाहरणका लागि भनौं, अझै पनि धेरै बालबालिकाले आधारभूत शिक्षा पाउन सकेका छैनन् भने किसानले मलबिउ नपाएको अवस्था छ। त्यसैले बालबालिका लागि राष्ट्रिय साक्षारता कार्यक्रम तथा किसानका लागि मलखादका विषय संसदमा आवाज उठाउने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सकिन्छ। संसद जनप्रतिनिधिले उठाएका मुद्दा सम्बोधन गर्ने थलो पनि हो।

निर्वाचन परिणाम, मिलिजुली सरकार र उठेको अस्थिरताको आशंकालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ? सरकार गठनमा यहाँको दलको भूमिका के रहन्छ?

हामीले विगतमा दुई तिहाइ बहुमतको सरकार देखिसकेका छौं। दुई तिहाइ आउँदैमा त्यो स्थिर हुन्छ भन्ने पनि रहेन। बहुमत आउँदैमा र सरकार बन्दैमा राजनीति स्थिर हुन्छ भन्नै पनि छैन। अहिले कसैको पनि स्पष्ट बहुमत नआएको अवस्था छ। त्यसको पनि एउटा सकारात्मक पक्ष छ, यसले पार्टी विशेषलाई अहम् पाल्न दिँदैन। सबैलाई मिलाएर जानुपर्छ, सानाभन्दा साना दल र आवाजका मुद्दालाई समेटेर जानुपर्छ भन्ने सन्देश दिएको छ। सहमति र सहकार्यको आवश्यकतालाई नै जनताले जोड दिएका छन्।

मूल कुरा भनेको नियत हो, राजनीतिक दल र नेताका नियत सफा भएमा दीर्घकालीन रूपमा जान सकिन्छ। जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ। सरकार गठनका लागि संसदमा बहुमत पुर्‍याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ। प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न। हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ। हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं। जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छाैं।

अहिलेको अवस्थामा अरू राजनीतिक दललाई के भन्नुहुन्छ, मतदातालाई के सन्देश छ ?

अन्य राजनीतिक दललाई के भन्न चाहन्छु भने यसभन्दाअघि जे जति भए, जे जस्तो गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु। जनताले निर्वाचनमार्फत् अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस्। अन्यथा गरिए राजनीतिक दलहरूप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ। अहिले सच्चिने मौका छ। सबैले जनमतको कदर गरौं। सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौं। जनमतको कदर गर्दै उनीहरूको सेवामा समर्पित होऔं। जनताले पनि दलहरूलाई निरन्तर खबरदारी र निगरानी गरिरहनु पर्छ।

संसद र सरकारमा प्रवेश गरेपछि यहाँको पहिलो एजेण्डा के हुन्छ?

संसद र सरकारमा प्रवेश गरेपछि सेवा प्रवाहमा हाम्रो ध्यान केन्द्रित हुन्छ। अहिलेको अवस्थामा बेरोजगारी प्रमुख समस्या हो। लाखौं युवा विदेसिन बाध्य भएका छन्। रोजगारी देशभित्रै सिर्जना गरिनुपर्छ। साक्षरता दर बढाउने, स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय तुल्याउने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाहमा ढिलासुस्ती हटाउनेजस्ता एजेण्डा नै हाम्रा प्राथमिकताहरू हुन्। तिनकै कार्यान्वयनका लागि हाम्रो पहल हुनेछ।

तपाईंहरू मधेसको वैकल्पिक शक्तिका रूपमा उदाउनुभएको छ, यो अवस्थामा मधेसका अन्य शक्तिहरूसँगको सहकार्यको योजना के छ?

सहकार्य जोसँग पनि हुनसक्छ, हामीले पाएको जनमत एक्लै निर्णायक छैन। कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ। त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ। मूल विषय भनेको हाम्रा माग र मुद्दाप्रति सकारात्मक हुनुपर्‍यो। हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौं। जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ। अब पनि जनतालाई गुमराहमा पार्नु हुँदैन, निकास दिन सक्नुपर्छ।

-नारायणप्रसाद न्यौपाने, सीबी अधिकारी/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर