आफ्नो स्वामित्वको सम्पत्ति निर्विवाद उपभोग गर्ने व्यवस्था मिलाउन स्काउटको माग

नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

स्काउटले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो ।

स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.सँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि पनि खाली नगराएकोले सो जग्गा खालि गर्नुपर्ने बताइएको छ । स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.को कुनै हकदाबी नहुने फैसला आएको भए पनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको जनाइएको छ ।

नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले आफूहरुले पटक–पटक सो जग्गा खाली गर्न भने पनि अटेर गरिएको बताए । अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरुमाथि पटक–पटक धाकधम्की दिइएको र कार्यालयसमेत तोडफोड गरिएको उनले बताए । स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी रहेको उल्लेख गरे । उनले बिहीबार नेपाल स्काउट केन्द्रीय कार्यालयको सुरक्षाको लागि बन्द गरिएको गेट प्रहरी प्रशासनको बलमा जबरजस्ती खोलेर तोडफोड भएको बताए ।

खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.ले प्रहरी प्रशासनको समेत दुरुपयोग गर्दै नेपाल स्काउट माथि पटक–पटक आक्रमण गरिरहेको अध्यक्ष भण्डारीको भनाइ छ । उनले स्काउटको सम्पत्ति कब्जा गर्न खोजिएको भन्दै आफूहरुले कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए । उनले स्काउटमाथि ज्यादती हुँदा र अदातलको समेत अवहेलना हुँदा पनि राज्य गम्भीर नभएको आरोप लगाए । उनले स्काउटको सम्पत्ति फिर्ता गराउन सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर