मेलम्ची वितरणपछि पनि सुल्झिएन उपत्यकामा पानीको समस्या (फोटो फिचर)

मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ । तर पनि उपत्यकावासीहरू हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरणले पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए । मेलम्चीको पानी वितरण भइसके पनि उपत्यकावासीका सास्ती उस्तै छ । लामो लाइन लागेर सार्वजनिक धाराहरूमा पानी थाप्ने मानिसहरूको संख्या आज पनि उल्लेख्य देखिन्छ ।

पानी वितरण सुरु भए पनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरूमा पानी थाप्न बिहानैदेखि मानिसहरूको भीड छ । पानीको समस्या मेलम्चीको पानी आइसक्दासमेत उस्तै छ । व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखापर्ने निश्चित छ ।

पानीको अभाव खड्किरहने काठमाडौं उपत्यकाले यतिबेला मेलम्चीको पानी वितरणसँगै राहत महसुस गर्नुपर्ने हो । शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा उनले काठमाडौंवासीलाई अस्थायी रूपमै भए पनि १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाएका थिए । तर, मेलम्चीको पानी काठमाडौं आइसक्दासमेत काठमाडौंवासीले सहजताको अनुभूति गर्न सकेका छैनन् ।

मेलम्चीको पानी महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मीनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने बताइएको छ । तर पनि सार्वजनिक धाराहरूमा पानी थाप्ने मानिसहरूको लाइन कम देखिँदैन । हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भए पनि आपूर्ति करिब १२ करोड लिटर मात्रै रहेको थियो । तर, शुत्रबारबाट मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुने अनुमान गरिएको छ । न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेको पानी थाप्न लाइन बसेका आम सर्वसाधारण काठमाडौंवासीका तस्बिरहरू आजको फोटो फिचरमा :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर