देशको अर्थतन्त्रमा सुधार नआई कर्मचारीको सेवा सुविधा बढाउन सकिँदैन : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

संसद् सचिवालयका कर्मचारीहरूले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ आएको हो ।

संसद् सेवा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद् सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरूले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराए ।

देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरूलाई सम्बोधन गर्न जोड दिने उनले आश्वासन दिए । अध्यक्ष तिमिल्सिनाले सांसदहरूको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए ।

अध्यक्ष तिमिल्सिनाले संसद्को कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद् अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताए । उनले संसद् सचिवालयलाई स्वायत्त निकाय बनाए पनि त्यसले जनताको सार्वभौम निकायको रूपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गरे ।

पूर्वसभामुख रानाभाटले संसद्लाई कमजोर हुन नदिए मात्रै मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था मजबुत भएर जाने स्मरण गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *