गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने सोच राख्दैन : विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली कांग्रेसले सोच्नुपर्ने बताए । उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने बताए ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव रिमालले समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने पनि बताए । उनले गठबन्धनमा रहेका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताए ।

गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा नेकपा एमालेका ३६ जना उम्मेदवारहरुमाथि निर्वाचनमा हराउने क्याम्पियन चलाउनु रहेको बताए । उनले गत निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरुमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने क्याम्पियन चलाइएको आरोप लगाए ।

उनले नेकपा एमालेले निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भनेपनि ६ प्रतिशत भोट घटेको बताए । उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट संख्याको बारेमा चुनावअघि कुनै पनि राजनीतिक कल्पना नै नगरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिटका कारण अहिलेको निर्वाचन परिणाम फरक भएको बताए । उपमहासचिव रिमालले धनुषा २ नम्बर क्षेत्र, कपिलवस्तुको २ नम्बर र दाङ २ नम्बर क्षेत्र लगायतका केही ठाउँमा अनपेक्षित रुपमा नतिजा आएको बताए ।

उपमहासचिव रिमालले नेकपा एमाले जनादेशको हिसावले देशको ठूलो पार्टी भएपनि अंक गणितका हिसाबले ठूलो बन्न नसकेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमालेमा स्वतन्त्रताको भिन्नता रहेको बताए । उनले नेपाली कांग्रेस गठबन्धनमा रहेका कारण स्वतन्त्र बन्न नसक्ने तर नेकपा एमाले भने आफू अनुकूलको निर्णय गर्नसक्ने बताए । उनले अहिलेको गठबन्धन जनताहरुबाट अस्वीकृत भएको कुरा निर्वाचन परिणामले देखाइसकेको बताए । उपमहासचिव रिमालले नयाँ सरकारका लागि काँग्रेस गठबन्धनमा रहेका कारण सहजै बहुमत बनाउने स्थितिमा रहेको बताए । कांग्रेस गठबन्धनमा रहेकाले नेकपा एमालले तत्काल नयाँ सरकारका लागि पहल गर्छ भनेर सोच्नु नहुने बताए ।

उनले गठबन्धनमा रहेका पार्टीहरु स्वतन्त्र नहुन्जेलसम्म नेकपा एमालेले सरकार बनाउनका लागि पहल नगर्ने बताए । उपमहासचिव रिमालले गठबन्धन सत्तापक्षमा रहे उसले विपक्षमा रहने एमालेसँग सहकार्य गरेर गए देशमा स्थिरता आउने बताए । असहमतिमा गठबन्धन अघि बढे राजनीति झनै अस्थिरताको चक्रमा जाने दाबी गरे ।

उपमहासचिव रिमालले नेकपा एमाले स्थिरताको पक्षमा रहेको भन्दै स्थिरताका लागि आवश्यक पहल गर्न तयार रहेको बताए । उनले नेपाली कांग्रेस लगायतका दलहरुले पनि स्थिरताको पक्षमा सोच्नुपर्ने बताए । उनले नेकपा एमालेले अहिले नयाँ सरकार बनाउने कुरामा भन्दा पनि गठबन्धनको भुमिकालाई नियालिरहेको बताए ।

उनले एउटा स्थितिमा पुगेर गठबन्धन टुट्ने दाबी गर्दै गठबन्धन भत्किएपछि मात्रै नयाँ विकल्पको कुरा हुने बताए । गठबन्धन कायमै रहँदासम्म नेकपा एमाले रचनात्मक विपक्षीको भूमिकामा रहने बताए । विपक्षमा रहँदा सरकारमा नजाने दलहरुसँगको सहकार्य बढाउने र एजेण्डालाई व्यवस्थित गर्नमा पार्टी लाग्ने बताए ।

उपमहासचिव रिमालले असमझदारीले नै मुलुक र राजनीतिमा वितृष्णा बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *