निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्त्वपूर्ण पाटोको रूपमा सोचेको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरुले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पारे। उनले निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्त्वपूर्ण पाटोको रूपमा सोचेको बताए।

अर्थमन्त्री शर्माले नीतिमा नै सरकार र निजी क्षेत्रबीचको सम्बन्धका बारेमा उल्लेख गरिएको भन्दै तत्काल परेका समस्याहरूमा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको बताए। उनले आवश्यकता अनुसार नीतिहरूको निर्माण गर्दै जान र नीतिहरू निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको बताए।

अर्थमन्त्री शर्माले तीव्र आर्थिक विकासको जन चाहना आवश्यकता रहेको बताए। उनले अर्थतन्त्रलाई गुणात्मक रूपले विकास गर्नु चलायमान बनाउने चुनौती रहे पनि सरकार त्यसमा लागिपरेको बताए।

उनले अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिक मात्र नभएको बताए। उनले अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा संकुचन भएको बताए।

उनले उत्पादनलाई अझ बढी विस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्ने बताए। अर्थमन्त्री शर्माले निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको पनि बताए।

उनले नीति निर्माण राम्रा भए पनि नीतिहरूलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यकता रहेको बताए। उनले नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको बताए।

मन्त्री शर्माले निर्यात गर्नसक्ने वस्तुहरुको प्राथमीकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए। उनले सरकारी संरचनालाई गतिशील, पारदर्शी र क्षमतायुक्त बनाउन आवश्यक रहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर