पार्टीका शीर्ष नेताहरूसँगकाे भेट पद प्राप्तिका लागि होइन : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन् ।

नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरूसँग भेट गरेको बताएका हुन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अहिलेको राजनीतिक स्थिति चुनौतीपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरूसँग भेट बढाएको बताए । नेता केसीले स्थापित पार्टीहरूका नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा ‘नो भोट’का रूपमा नागरिकहरुले स्वतन्त्रहरूलाई भोट दिएको बताए ।

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँपन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधिविहीनता विरोधको आवाज उठाउने र सुशासन स्थापना गर्नको निम्ति संसद्मा आफूले असल सांसदको रूपमा आफूले काम गर्ने बताए । उनले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनै पनि पद माग्न नजाने स्पष्ट पारे ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बेलामा ठूलाठूला भ्रष्टाचारका काण्डहरू भए पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदासमेत ठूला काण्डहरूको बारेमा छानबिन हुन नसकेको बताए । उनले पूर्वप्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यकता रहेको बताए । नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरुबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताए ।

नेता केसीले नेपाली कांग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गरे । उनले निर्वाचनमा जनताको बीचमा गरेका प्रतिबद्धताहरूलाई पूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिबद्धता नै आजको आवश्यकता भएको बताए । नेता केसीले कांग्रेस गठबन्धनभित्रको ठूलो दल भएकाले पनि कांग्रैसकै नेतृत्वमा सरकार बन्ने बताए ।

नेता केसीले पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

नेता केसीले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूसँग भेट गरेका थिए । सोही भेटलाई लिएर विभिन्न सञ्चारमाध्यमहरूमा सभामुखका लागि भेटघाट तीव्र बनाएको समाचार सार्वजनिक भएका थिए । यद्यपि भित्री चर्चा सभामुखका लागि भए पनि नेता केसीले भने कुनै पनि पद प्राप्तिका लागि आफूले भेटघाट नगरेको दाबी गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर