सबल पक्षको भरपुर सदुपयोग गरेर मेडल भित्र्याउँछौं : मुख्य प्रशिक्षक भट्ट

नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै छ । बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि अहिले युवा टोलीले तयारीलाई तीव्रता दिइरहेको छ । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा सहभागी हुने टोलीलाई मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रशिक्षण गराइरहेका छन् । पहिलो पटक सहभागिता हुन लागेको प्रतियोगितामा नेपालको लक्ष्य कम्तीमा पनि पदक रहेको छ ।

बंगलादेशको ढाकामा पुस ५ गतेदेखि ११ गतेसम्म काभा यू–२३ प्रतियोगिता आयोजना हुँदैछ । सोही प्रतियोगिताका लागि नेपाली टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा तयारी गरिरहेको छ । बिहान र साँझ गरी दुई समयमा सुखद नतिजा निकाल्ने लक्ष्यसहित तयारीलाई तीव्रता दिइरहिएको हो । पहिलो पटक सहभागिता जनाउन लागेको उमेर समूहको प्रतियोगितामा नयाँ खेलाडीलाई अवसर दिइएको छ । लामो प्रक्रियाबाट छनोट हुँदै आएका खेलाडीलाई संघले बन्द प्रशिक्षण राखेर अभ्यास गराइरहेको हो ।

आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान र नेपालले सहभागिता जनाएको प्रतियोगितालाई सार्थक पार्न विगत ४० दिनदेखि नेपाली टोली तल्लीन छ । नेपाली टोलीलाई दुई सिफ्टमा अभ्यास गराइरेहका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बलिया टोलीविरुद्ध नेपालले प्रतिस्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गरे । ८० जनाको प्रारम्भिक छनोट पार गर्दै अन्तिम १४ खेलाडीको टुङ्गो लागिसकेको अवस्थामा पनि नयाँ खेलाडी केही शारीरिक र मानसिक कमजोरी भएको बताए । तर पनि दैनिक ७ घण्टाको प्रशिक्षण र घरेलु टोलीसँगको अभ्यास खेलबाट मनोबल दिलाउने बताए ।

एक सातासम्म आयोजना हुने प्रतियोगिताको तालिका सार्वजनिक पनि भइसकेको छ । सार्वजनिक भएको तालिकाअनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । बंगलादेश सिनियर टोलीमा नेपालभन्दा बलियो भए पनि उमेर समूहमा नेपालजस्तै अगाडि बढ्दै गरेको टोली हो । यस्तै अन्य प्रतिस्पर्धी टोली पनि उदाउँदै गरेका भएकाले नेपालको सम्भावना रहेको प्रशिक्षक भट्टको बुझाइ छ । चार दशक सहभागिता जनाउन नसकेको अवस्थामा उमेर समूहको नेपाली टोलीको सहभागिता अनुभव लिने अवसर भएको बताए । सहभागिता जनाउँदै गर्दा लक्ष्य स्वर्ण पदक जित्ने राखेको तर सहभागिताको हिसाबमा पहिलो भएकाले कम्तीमा पनि मेडल ल्याउनेमा प्रशिक्षक भट्ट आशावादी छन् । अहिले बन्द प्रशिक्षणमा रहेको टोलीमा सबल र दुर्बल पक्ष सबै भएको र सबल पक्षको भरपुर सदुपयोग गर्दै प्रतियोगितामा नेपाली टोली अगाडि बढ्ने बताए ।

चार टोलीले सहभागिता जनाउने प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुनेछ । पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दा लिगको दोस्रो खेल ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ । चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुग्नेछ । जसअन्तर्गत शीर्ष टोलीले पुछारमा रहने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दा दोस्रो सेमिफाइनल खेल दोस्रो र तेस्रो स्थानको टोलीबीच हुनेछ । नेपाल कम्तीमा पनि तेस्रो भएको अवस्थामा मेडल हात पार्नेछ । सेमिफाइनल १० पुसमा हुनेछ भने फाइनल ११ पुसमा हुनेछ ।

अन्तिम १४ सदस्यीय टोली
धीरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रूपबहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनीष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भीमराज गुरुङ (लिबेरो) ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *