आइतबारको कन्सर्टका लागि धनगढीमा ‘नेपथ्य’

मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र व्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली शुक्रबार दिउँसो धनगढी पुगेको छ । पाँचवटा ट्रक र दुईवटा बसहरूमा पुगेको यो टोलीलाई शुक्रबारै आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलगायत पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यसअघि नेपथ्यले बवराटनगर, वीरगञ्ज, हेटौंडा, चितवन र नेपालगञ्जमा हजारौं दर्शकका बीच भव्य कन्सर्ट प्रस्तुत गरिसकेको छ ।
नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवा पुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिना दिन लामो नेपाल भ्रमणअन्तर्गत धनगढीमा छैठौं प्रस्तुति दिन लागेको हो । कार्यक्रम पुस ३ गते आइतबार अपराह्न ४ बजे स्थानीय धनगढी रंगशाला मैदानमा हुनेछ । धनगढीमा यसअघि पनि चारपटक उपस्थित भइसकेको नेपथ्यले यो रंगशाला मैदानमा भने आफूलाई दोस्राेपटक प्रस्तुत गर्न लागेको हो ।

नेपथ्यले पहिलोपटक ‘सुन्दर शान्त नेपाल’ अभियानअन्तर्गत सन् २००५ मा पहिलोपटक आफूलाई धनगढीमा प्रस्तुत गरेको थियो । त्यसको लगत्तै अर्को वर्ष २००६ मा ‘शान्तिको लागि शिक्षा’ अभियानमा आफूलाई यहाँ प्रस्तुत गर्याे । त्यसको ६ वर्षपछि फेरि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै नेपथ्य यहाँ प्रस्तुत भएको थियो । पछिल्लोपटक भने चार वर्षअघि सन् २०१८ मा नेपथ्यले अहिले प्रस्तुत हुन लागेको रंगशाला मैदानमै कन्सर्ट दिएको थियो ।

संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्न लागेको हो । यस क्रममा नेपालको पूर्वीदेखि पश्चिमसम्म गरेर दश स्थानमा कन्सर्ट आयोजना गरिनेछ । विराटनगरबाट सुरु भएको यो यात्रा एक महिनासम्म चल्नेछ । यात्रा सुरु गर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो ।

आइतबारको प्रस्तुतिका लागि धनगढी रंगशालामा मञ्च बनाउने काम धमाधम सुरु भइसकेको छ । शनिबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुति अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको हो ।

‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम धनगढीका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको धनगढीस्थित संयोजक आदर्श ढकाल भन्छन्, ‘कार्यक्रमलाई भव्य रूपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’ ढकालका अनुसार धनगढी कन्सर्टका टिकटहरू सुदुरपश्चिम महोत्सवको स्टल नम्बर १५९ बाट धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरूले अनलाइनमार्फत् पनि टिकट काट्न सक्ने उनले बताए । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी (msa.org.np) मार्फत् सोझै काट्न सकिन्छ । त्यसैगरी नेपथ्य ब्याण्डको वेबसाइट (nepathya.com.np) बाट पनि कन्सर्टहरूको टिकट उपलब्ध गराइएको छ । टेलिफोनमार्फत् सिट सुरक्षित गर्न चाहने दर्शकहरूका निम्ति ९८५५०७६०१३ र ९८४३३४७६२७ नम्बर उपलब्ध छन् ।

मानवसेवा आश्रमले शनिबार धनगढी, चटकपुर ४ को शहिदगेट नजिकै ‘सौंराइ बैंकेट एण्ड इभेन्ट्स’ मा बिहान ११ बजे नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई स्वागत तथा चियापान आयोजना गर्नेछ ।

यो कन्सर्टको लाभांशले मानवता प्रवर्द्धन साथै धनगढीमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरी यसबाट बेसहाराहरूको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर