अधिकांश नगरपालिकाहरुमा अव्यवस्थित शहरीकरण बढेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। सोमबार नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यक्तालाई उचित सम्बोधन हुनेगरी स्थानीय स्रोत साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दयित्व र जवाफदेहितालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताए। उनले स्थानीय तहको सम्भाव्य स्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताए।

प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरूले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने बताए। उनले जनताको काम बिना झन्झट, छिटो, छरितो रूपमा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिबद्ध हुन आवश्यक रहेको पनि बताए।

प्रधानमन्त्री देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरू, योजनाबद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलेसा, हरियाली क्षेत्र र सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक रहेको पनि बताए।

उनले मुलुकका अधिकांश नगरपालिकाहरू अव्यवस्थित शहरीकरणबाट गुज्रिँदा नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र शहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रूपमा परिणत भइरहेका बताए। काठमाडौंलगायत सबै नगरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउन आवश्यक रहेको पनि बताए।

प्रधानमन्त्री देउवाले वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिए। उनले शहरहरूलाई आर्थिक विकासको हबका रूपमा समेत विकास गर्ने कार्यमा सहायेगी भूमिका निर्वाह गर्न नगरपालिका संघलाई आग्रह गरे। मुलुकभित्रका सबै नगरपालिकालाई सुव्यवस्थित तरिकाले आफ्नो मौलिक पहिचान र विशिष्टतासहित नमूना नगरपालिका बनाउन आवश्यक रहेको बताए।

प्रधानमन्त्री देउवाले नगरपालिकाले नगरसम्बन्धी कानून बनाउने र नगरको समग्र समस्या संघ र प्रदेशलाई उजागर गराई रचनात्मक बाटो पहिल्याउन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर