निहिता विश्वास भन्छिन्, ‘राजनीतिक गुटबन्दीका कारण चार्ल्स शोभराजको रिहाइमा ढिलाइ’

कानून व्यवसायीहरूले ‘सिरियल किलर’ चार्ल्स शोभराजको रिहाइमा ढिलाइ भएको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलासँगै केन्द्रीय कारगारबाट थुनामुक्त भई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ ।

यसैबीच शोभराजको पक्षमा वकालत गर्दै आएकी श्रीमतीसमेत रहेकी कानून व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाइमा ५ वर्ष ढिलाइ हुन गएको बताइन् । उनले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारगारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा पनि शोभराज पर्न गएको बताइन् ।

कानून व्यवसायी विश्वासले मुटुको रोग लागेका शोभराजको कारगारभित्रै निधन हुने देखेपछि पनि अदालतले उनलाई रिहा गर्ने निर्णय लिएको बताइन् ।

उनले भनिन्, ‘मिडियाको कारणले गर्दाखेरि कोर्टलाई डिसिजन मेकिङका लागि एकदमै प्रेसराइज भएको थियो । यो प्रोसेस चाँहि फाइब इयर पहिले नै टुंगिनु पर्दथ्यो । प्रशासनिक ढिलासुस्ती र सरकार तथा राजनीतिक दलहरूको खिचातानीको कारणले यो प्रक्रियामा लम्बिन गयो । राजनीतिक दलहरूले आ–आफ्नो मान्छेलाई मात्रै निकाल्न खोजेकाले पनि यो प्रक्रियामा ढिलाइ हुन गयो ।’

यसैबीच वरिष्ठ अधिवक्ता रामबन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको बताएका छन् । शोभराजको पक्षमा वकालत गर्दै आएका उनले शोभराजको रिहा गर्ने सर्वोच्च अदालतको फैसलाले मानव अधिकारको सम्मान गरेको र उनी स्वयंले पनि न्याय पाएको प्रतिक्रिया दिए । वरिष्ठ अधिवक्ता शर्माले भने, ‘सर्वोच्च अदालतको जुन आदेश भयो यो सराहनीय छ । र, यो आदेशबाट मानव अधिकारको सम्मान भएको छ । ढिलै भए पनि न्याय पाएको छन् चाल्र्स शोभराजले ।’

अध्यागमन विभागले आजै शोभराजलाई फेरि नेपाल फर्कन नपाउने गरी फ्रान्स पठाउने छ । अध्यागमन विभागमा पुगेकी कानून व्यवसायी विश्वासले आज राति नै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *