‘युक्रेन युद्धले विश्व साम्राज्यवादमाथि संकट चुलियो’

क्रान्तिकारी पार्टी र संगठनको अन्तर्राष्ट्रिय को–अर्डिनेसन (आईसीओआर)ले युक्रेन युद्धका कारण विश्व साम्राज्यवादी संरचनात्मक पद्धतिलाई संकटग्रस्त बनाएको ठहर गरेको छ । साम्राज्यवाद र फासीवादमाथिको संकटले समाजवाद स्थापनाको आधार खडा गर्नसक्ने आईओआरले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निमन्त्रणामा हालै काठमाडौं आएकी आईसीओआर संयोजक मोनिका गार्टनरले युक्रेन–रसिया युद्धले गुणात्मक छलाङ मारेको बताइन् । यसले विश्व साम्राज्यवादमाथि आर्थिक, राजनीतिक, सैनिकलगायतका संकट उत्पन्न गरेको भन्दै युद्धले समग्र मानव जातिका लागिसमेत नयाँनयाँ संकट खडा गरेको बताइन् ।

नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) की नेत्री गार्टनरले भनिन्, ‘अहिलेको संकटको मुख्य बिन्दु युक्रेन युद्ध हो । यसले साम्राज्यवादी संरचनात्मक पद्धतिमा व्यापक संकट ल्याएको छ । परम्परागत साम्राज्यवादी शक्तिहरूमा यसले राजनैतिक, आर्थिक, सैनिक संकट बढाएको छ । साथसाथै आर्थिक, वित्तीय उपनिवेशवादी परनिर्भरता, भोकमरी, महँगी, वातावरणीय विनाश, शरणार्थी समस्याजस्ता संकटहरू पनि निम्त्याएको छ ।’

साम्राज्यवादी स्थायित्व अब युक्रेन युद्धपछि अस्थायी बनेको उनले बताइन् । यसले मूलतः दुईवटा विकल्प तेस्रो विश्वयुद्ध वा समाजवादी क्रान्ति ल्याउने गार्टनरको भनाइ छ ।

‘युक्रेन युद्ध अगाडि बढ्दै गए तेस्रो विश्वयुद्ध हुन पनि सक्छ । तेस्रो विश्वयुद्ध हुने अवस्थामा आणविक हतियार प्रयोगका कारण मानव जातिकै अस्तित्व संकटमा पर्न सक्छ,’ आईसीओआर संयोजक गार्टनरले भनिन्, ‘अथवा साम्राज्यवादी अन्तरविरोध बढ्दै जाँदा जनताको प्रतिकारबाट समाजवादी क्रान्ति हुन सक्छ । यस्तो अवस्थामा मार्क्ससवादी लेनिनवादीहरूले मजदुर वर्गलाई अझ बढी क्रान्तिमुखी बनाउनुपर्छ ।’

गार्टनरले अमेरिकाले नाटो (सैनिक संगठन)को नेतृत्व गरिरहेको र यो नै विश्व शान्तिमा खलल पुर्‍याउने मुख्य नाइके भएको बताइन् । साथै रसियाले युक्रेनको आत्मनिर्णयको अधिकार र शान्ति भंग गरिरहेको आरोप पनि लगाइन् ।

विश्वभरका मार्क्सवादी लेनिनवादी संगठनहरूलाई कुनै पनि युद्धरत पक्षको साथ नदिन आह्वान गरिन् ।

‘यदि युद्धरत कुनै पनि पक्षलाई समर्थन गर्छौं भने त्यो सामाजिक धोका हुन जान्छ’ उनले भनिन्, ‘वर्गीय एकता बलियो बनाएर, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग जो हाम्रो हतियार पनि हो, त्यो हतियारद्वारा साम्राज्यवादविरुद्धको संघर्षलाई अघि बढाउनुपर्छ ।’

उनले आईसीओआरले युक्रेन युद्ध तत्काल रोक्न माग गरेको बताइन् । रसिया र युक्रेनको सिमा क्षेत्रलाई असैनिक क्षेत्र घोषणा गर्नुपर्ने तथा युक्रेनमाथि भएको क्षतिको रसियाले क्षतिपूर्ति भर्नुपर्ने र अमेरिकाले नाटोलगायत सैनिक संगठन विघटन गर्नुपर्ने बताइन् ।

साथै साम्राज्यवादी युद्धका कारण विश्वभर मानव जातिमाथि परेका आर्थिक, सामाजिक, सांस्कृतिक संकट एवं वातावरणीय विनाशविरुद्ध विश्वभरका मजदुरलाई आवाज उठाउन आह्वान पनि गरिन् ।

आईसीओआरको पछिल्लो गतिविधिबारे जानकारी दिँदै संयोजक गार्टनरले साम्राज्यवादी–फासीवादी मोर्चा ‘युनाइटेड फ्रन्ट’ ले महत्त्वपूर्ण प्रयासहरू गरिरहेको बताइन् । उनका अनुसार हालै सो संगठनले एक अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको थियो, जसमा २० देशका १०० बढी प्रतिनिधिहरू सहभागी थिए । पछिल्लो समयमा आईसीओआरप्रति विश्वका विभिन्न मुलुकबाट चासो बढिरहेको पनि उनले जनाइन् । यसै सन्दर्भमा आगामी सेप्टेम्बर ५ र ६ तारिखमा पेरिसमा विश्व साम्राज्यवाद तथा फासीवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन हुने र त्योभन्दा अघि आउँदो जनवरीमा मजदुरहरूको एउटा कार्यक्रम पनि आयोजना गरिएको उनले बताइन् ।

गार्टनरले सडेगलेको साम्राज्यवादलाई प्रतिस्थापन गर्न आईसीओआरले विश्वभरका समाजवादी संगठनहरूबीच संयोजनको प्रयास गरिरहेको भन्दै नेपालमा नेकपा (मसाल)ले खेलेको भूमिकाको प्रशंसा पनि गरिन् । नेकपा (मसाल) आईसीओआरको सदस्य संगठन हो ।

नेपाल आएका जर्मन कम्युनिष्ट पार्टी एमएलपीडीका नेताहरूलाई नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले स्वागत गरेका थिए ।

काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत मसाल सम्बद्ध विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । अखिल नेपाल बुद्धिजीवी संगठनका अध्यक्ष प्रा.डा. श्रीधर गौतमले भाषा अनुवाद गरेको कार्यक्रममा सहभागीहरूका विभिन्न जिज्ञासाबारे आईसीओआर संयोजक गार्टनरले स्पष्ट पारेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *