भारतकी ‘रोलमोडल’ बैंकर चन्दा कोचर : ३ हजार करोड अनियमितताले सीबीआईको फन्दामा

भारतको सीबीआईले शुक्रबार आईसीआईसीआई बैंककी पूर्व एमडी तथा सीईओ चन्दा कोचर र उनका श्रीमान् दीपक कोचरलाई पक्राउ गरेको छ । उनीमाथि भिडियोकन समूहलाई दिएको ३ हजार करोड रुपैयाँको ऋणमा अनियमितता गरेको आरोप छ ।

यो ऋण दिँदा उनी आईसीआईसीआई बैंककी प्रमुख थिइन् । यो ऋण रकम श्रीमान्को कम्पनीमा लगानी गरेको आरोप पनि उनीमाथि लागेको छ । उनीमाथि लागेको आरोप अनुसार इलेक्ट्रोनिक्स उत्पादन तथा तेल ग्यास खानी कम्पनी भिडियोकनका पूर्व अध्यक्ष वेणुगोपाल धूतले दीपक कोचरको कम्पनी न्युपावर रिन्युएबलमा ठूलो रकम लगानी गरेको आरोप छ ।

भिडियोकन समूहले आईसीआईसीआई बैंकबाट ऋण लिएपछि यो लगानी गरिएको हो । भिडियोकनलाई दिइएको यो ऋण एनपीए (नन पफर्मिङ एसेट्स) मा परिणत भएको थियो ।

चन्दालाई कुनै समय भारतीय बैंकिङ क्षेत्रको स्टार भनिन्थ्यो । उनले छोटो समयमै आफ्नो करियरको उचाइ छोएकी थिइन् । व्यवस्थापन र बैंकिङ क्षेत्रकी दिग्गज चन्दा महिलाहरुको लागि रोल मोडेल थिइन् ।

एक चम्किलो बैंकिङ यात्राको यस्तो अन्त्य
‘आकाशको लागि कामना गर्नुहोस् तर बिस्तारै हिड्नुहोस् । बाटोको हरेक पाइलाको आनन्द लिनुहोस् । यी साना कदमहरूले हाम्रो यात्रा पूरा गर्दछ ।’

सन् २००९ मा आईसीआईसीआई बैंकको सीईओ र प्रबन्ध निर्देशकमा नियुक्त हुँदा उनले यस्तो बताएकी थिइन् । चन्दाले लामो यात्रामा चाल्नुपर्ने साना कदमको महत्व बताएकी थिइन् । सायद त्यतिबेला उनलाई आफ्नो चम्किरहेको बैंकिङ यात्रा यसरी टुट्नेछ भन्ने अलिकति पनि कल्पना थिएन ।

भारतीय बैंकिङ क्षेत्रमा पुरुष वर्चस्व तोडेर विश्वको बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी चन्दामाथि अहिले सिबिआईको अनुसन्धानको छाया परेको छ । सीबीआईले चन्दा र उनका श्रीमान् दीपकविरुद्ध आपराधिक षड्यन्त्र र ठगीको मुद्दा दर्ता गरेको छ ।

आज चन्दा गलत कारणले चर्चामा छिन्, तर त्यसअघि उनको बैंकिङसँग जोडिएको अचम्मको यात्रा हेरौँ । जहाँ संघर्ष हुन्छ, त्यहाँ सफलता र ठूला पुरस्कारहरू संलग्न हुन्छन् ।

राजस्थानदेखि मुम्बई यात्रा
राजस्थानको जोधपुरमा जन्मिएकी चन्दाले जयपुरबाट स्कुल पढेकी थिइन् । उनका बुबा रूपचन्द आडवाणी जयपुर इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रिन्सिपल थिए, जबकि उनकी आमा गृहिणी थिइन् ।

चन्दाका पति दीपकको आधिकारिक ब्लगमा उनको बारेमा लेखिएको छ । चन्दा १३ वर्षकी हुँदा उनका बुवाको निधन भयो । उनले मुम्बईको जय हिन्द कलेजबाट बीकम गरिन् । सन् १९८२ मा स्नातक गरेपछि उनले इन्स्टिच्युट अफ कस्ट एकाउन्टेन्ट्स अफ इन्डियाबाट लेखाको अध्ययन गरिन् र त्यसपछि जमनालाल बजाज इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडीजबाट स्नातकोत्तर गरिन् ।

चन्दाले व्यवस्थापन अध्ययनमा उत्कृष्टताका लागि वोकहार्ट स्वर्ण पदक र लेखाशास्त्रमा जेएन बोस स्वर्ण पदक प्राप्त गरेकी छन् । चन्दाले सन् १९८४ मा आईसीआईसीआई बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा प्रवेश गरेकी थिइन् । सन् १९९४ मा आईसीआईसीआई बैंक पूर्ण स्वामित्वको बैंकिङ कम्पनी बनेपछि चन्द कोचरलाई सहायक महाप्रबन्धक बनाइयो ।

बैंकको सीईओ तथा पद्मभूषण
चन्दा निरन्तर सफलताको सिँढी चढिरहेकी थिइन् । उपमहाप्रबन्धक, महाप्रबन्धकको पदबाट बैंकले सन् २००१ मा उनलाई कार्यकारी निर्देशक बनाएको थियो । त्यसपछि उनलाई कर्पोरेट व्यवसायको हेरचाहको जिम्मेवारी दिइएको थियो । त्यसपछि उनलाई प्रमुख वित्तीय अधिकृत बनाइयो ।

त्यसपछि मे २००९ मा चन्दालाई आईसीआईसीआई बैंकको सीईओ र एमडी बनाइएयो । उनको नेतृत्वमा, आईसीआईसीआई बैंकले खुद्रा व्यवसायमा प्रवेश गर्‍याे, जसमा यसले ठूलो सफलता पायो ।

यो उनको योग्यता र बैंकिङ क्षेत्रमा उनको योगदानको प्रमाण थियो, जसका लागि भारत सरकारले उनलाई तेस्रो सर्वोच्च नागरिक सम्मान, पद्मभूषण (२०११ मा) प्रदान गर्‍याे । आईसीआईसीआईमा उनको कार्यकालमा भारत र विदेशमा बैंकका विभिन्न योजना सञ्चालनको जिम्मा दिइएको थियो ।

उनको नेतृत्वमा, आईसीआईसीआई बैंक भारतको दोस्रो ठूलो निजी क्षेत्रको बैंक बन्यो । सन् २०१६ मा दीपकले चन्दाको वार्षिक तलब ५ अर्ब १२ करोड रुपैयाँ उल्लेख गरेका थिए । उनले फोर्ब्स पत्रिकाको विश्वका १०० शक्तिशाली महिलाको सूचीमा पनि स्थान पाएकी छन् ।

पदको गलत प्रयोग !
लगातार नौ वर्षसम्म आईसीआईसीआई बैंकको सीईओ रहेकी चन्दाको करियरमा सन् २०१८ देखि कालो बादल मडारिन थाल्यो । उनीमाथि भिडियोकन समूहलाई ऋण दिएर अनुचित ढंगले व्यक्तिगत फाइदा लिएको आरोप लागेको थियो । यो कुरा यति बढ्यो कि ४ अक्टोबर २०१८ मा उनले आफ्नो पदबाट राजीनामा दिनुपर्‍याे । चन्दाको कार्यकाल मार्च २०१९ मा सकिँदै थियो ।

चन्दामाथि गत मार्चमा आफ्नो श्रीमानलाई आर्थिक फाइदा दिएको भन्दै पदको दुरुपयोग गरेको आरोप लागेको थियो । इन्डियन एक्सप्रेसले मार्चमा दावी गरेको थियो कि आईसीआईसीआई बैंकले अप्रिल २०१२ मा भिडियोकन समूहका पाँच कम्पनीहरूलाई ३ हजार २५० करोड रुपैयाँ ऋण दिएको थियो ।

घटना कसरी बाहिर आयो ?
व्हिसल ब्लोअर अरविन्द गुप्ताको गुनासोपछि मिडियाले यो कुरा पहिलो पटक सार्वजनिक गरेको हो । अरविन्द गुप्ता भिडियोकन समूहमा लगानीकर्ता थिए । सन् २०१६ मा उनले आईसीआईसीआई बैंक र भिडियोकन समूहबीचको कारोबारमा प्रश्न उठाएका थिए ।

उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई लेखेको पत्रमा कोचरको कथित अनुपयुक्त व्यवहार र स्वार्थको द्वन्द्वबारे जानकारी गराएको छ । त्यतिबेला अरविन्द गुप्ताको गुनासोलाई खासै ध्यान दिइएन । यसपछि उनले सन् २०१० मा दीपक कोचरद्वारा प्रवर्द्धित कम्पनीबारे थप जानकारी संकलन गरे ।

गत वर्ष, जब इन्डियन एक्सप्रेसले यी आर्थिक अनियमितताहरूको बारेमा रिपोर्ट प्रकाशित गर्‍याे, यो विषय राष्ट्रिय मिडियामा हेडलाइन बनेको थियो । आईसीआईसीआई बैंकले स्वतन्त्र छानबिन गर्ने निर्णय गरेको छ ।

बैंकले गत वर्ष मे ३० मा बोर्डले ह्वीसल ब्लोअरको आरोपबारे ‘विस्तृत अनुसन्धान’ गर्ने घोषणा गरेको थियो । त्यसपछि यस प्रकरणको स्वतन्त्र अनुसन्धानको जिम्मेवारी सर्वोच्च अदालतका पूर्वन्यायाधीश बीएन श्रीकृष्णलाई दिइएको थियो ।

अप्रिल महिनामा, सीबीआईले यो मुद्दा आफ्नो हातमा लियो र दीपक कोचर, भिडियोकन समूह लगायत केही व्यक्तिहरू बीचको लेनदेनको प्रारम्भिक अनुसन्धान सुरु गर्‍याे ।

जुनमा चन्दाले बिदामा जाने निर्णय गरेकी थिइन् । त्यसपछि सन्दिप बक्षी गत असार १९ मा बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । पछि चन्दाले राजीनामा दिएपछि सन्दीप बक्षी बैंकको नयाँ पूर्णकालिक प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धकमा नियुक्त भएका थिए । बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर