आत्मविश्वास र हिम्मतले शिखर चुमेकाहरू

२०६४ सालमा दुर्घटना एउटा खुट्टा गुमाएपछि नीलम ढुंगानाको आत्मविश्वास पनि भाँच्चिसकेको थियो । दुर्घटना हुनुअगाडि शौखले नृत्य गर्दै आएकी उनलाई उभिने खुट्टा नै गुमाएपछि धेरै थोक गुमाएझैं लाग्यो ।

तर, उनको जीवनमा यस्तो पनि मोड आयो, जुन मोडबाट उभिन मात्रै सिकिनन्, एउटै खुट्टाको बलमा उभिएर फनफनी नृत्य गर्न सकिन् । आज देशमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरका मञ्चमा पनि उनको माग बढ्दो छ । आज देशकै सफल नृत्यंगनामा उनी दरिन्छिन् ।

त्यो नीलमले देखाएको आँत थियो, र हजारौं अपांगता भएका व्यक्तिका लागि अजरअमर हिम्मत । ‘म अरुभन्दा फरक देखिन्छु भनेर नृत्य गरेको पनि होइन । दुर्घटनापछि मलाई आत्मविश्वास पनि थिएन । यसरी बोल्न पनि सक्दिनँ थिएँ । कहीं कन्फिडेन्स थिएन, सेल्फडाउट थियो,’ ढुंगाना सुनाउँछिन्, ‘तर, जुन चिजसँग प्यासिनेट भइन्छ, कहीं न कहींबाट डोर्‍याएर ल्याउने रहेछ ।’

पोखरामा जारी नवौं नेपाल लिटरेचर फेस्टिबलको तेस्रो दिन भएको ‘फरक, अब्बल’ सत्रमा ढुंगानाले कलाकार सुजल बम र अमीर बोम्जनसँग आफ्नो भोगाइहरु साझा गरेकी हुन् । सत्रको सहजीकरण पत्रकार गजेन्द्र बुढाथोकीले गरेका थिए ।

नीलमले एउटै खुट्टाको बलमा नाच्न थालेको २०१३ देखि हो । त्यतिबेला पनि आफ्नो कमजोरी लुकाउन ‘आफ्नै बिजोग देखाएर किन नाच्ने ?’ भन्ने लाग्ने गरेको उनको अनुभव छ । ‘सायद ममा पनि चेतना थिए । डर, लाज मलाई पनि लाग्थ्यो,’ उनले भनिन्, ‘कसैले केही भन्ने हुन् कि मन नपराइदिने हुन् कि भन्ने लाग्थ्यो ।’

तर, अहिले आफ्नै प्रस्तुतिले दर्शकको सोच बदल्न सकेकोमा भने उनी खुसी छिन् । पहिले अपांगता भएका व्यक्तिहरुको कुरा काट्नेहरु पनि आफूहरुको सफलतामा खुसी हुन थालेको उनको अनुभव छ । ‘पर्फमेन्स अघि र पछि व्यवहार फरक हुन्छ । काहीं न काहीं उहाँहरुको सोच बदल्न सकेको रैछु नि भन्ने हुन्छ,’ उनले भनिन् ।

उस्तै कथा छ, कलाकार सुजल बमको पनि । पछिल्लो समय चर्चामा आएको सामाजिक सञ्जाल ‘टिकटक’लाई प्रयोग गर्दै बम कलाकारितामा प्रवेश गरेकी हुन् । सत्रमा बमलाई अनुवादक रश्मि निरौलाले सहयोग गरेकी थिइन् । उनले अहिले ‘लिपसिङ’कै आधारमा थुप्रै म्युजिक भिडियोमा मोडलिङ पनि गरिसकेकी छन् ।

सुदूरपश्चिमको डोटीबाट काठमाडौं आएर संघर्ष गरेकी बमले आफू बहिरा भएकै कारण थुप्रै ठाउँमा समस्या भोग्नु परेको सुनाइन् । मिस एसईई २०१९ मा भाग लिएर चौथो स्थान ल्याएकी उनी त्यतिबेला दोभाषे नहुँदा पनि आफू हिम्मत गरेर उक्त प्रतियोगितामा भाग लिएको बताइन् ।

‘१० कक्षापछि मिस एसईईमा भाग लिएकी थिएँ । त्यसमा पनि दोभाषेको व्यवस्था थिएन । दोभाषे नहुँदा धेरै समस्या भोग्नुप¥यो,’ बम सुनाउँछिन्, ‘तर, जे गरें आफ्नै बलबुत्ताले गरें । साथ बाबाको पनि रह्यो ।’

डोटीबाट सुरुमा धनगढी आएको तर, बहिरालाई पढ्ने व्यवस्था नभएकै कारण पछि सिन्धुपाल्चोक गएको बमले सुनाइन् । त्यसपछि उनी काठमाडौं आए । काठमाडौं नक्सालमा बहिरा स्कुलबाट उनले २ कक्षादेखि एसईईसम्मको पढाइ पूरा गरेकी थिइन् ।

‘होस्टल बसेर पढेको हुँ । होस्टेल कति फोहोर थियो, कुनै व्यवस्थित नै थिएन । खेल्ने साथी पनि थिएन, खाली त्यो सांकेतिक भाषा सिक्नका लागिमात्रै थियो,’ सुजलले भनिन् । तर, त्यहाँ उनले आफूले केटा साथीहरु नाचेको देखेरै नाच्न सिकेको खुसी हुँदै सुनाइन् ।

साथीहरुको सिको गर्दै नाच्न सिक्दासिक्दै कोरोना महामारीले कक्षा रोकियो । त्यसपछि उनले आफूलाई भुलाउन टिकटकमा नाचेको भिडियो पोस्ट््याउन थालिन् । गीत नसुने पनि ओंठको चालका आधारमा आफ्नो नृत्य चाल पहिल्याउन थालिन् । ‘सुरुमा नाच सिक्छु भन्दा पनि बहिरा भनेर कसैले सहयोग गरेन । तर, कोरोनाका बेला टिकटकमा नृत्य गर्दै भिडियो हाल्न थालें । धेरैले मन पराइदिनुभयो,’ उनले भनिन् ।

कलाकार सुजल बम आफूहरुलाई बहिराको साटो लाटा भनिदिँदा दुख लाग्ने गरेको दुखेसो पोखिन् । आफूहरुको पनि भावना हुने भएकाले त्यसलाई सम्मान गरिदिन उनले आग्रह गरिन् ।

कलाकार ढुंगानाले अपांगता भएका व्यक्तिहरुलाई अवसर सपांग व्यक्तिले नै दिनुपर्ने धारणा राखिन् । अपांगता भएका व्यक्तिहरु पनि अवसरकै खोजीमा हुने भएकाले त्यसमा व्यक्ति, समाज र राज्य सबै उत्तिकै जिम्मेवार हुनुपर्ने सुझाइन् ।

‘अवसर दिने अपांगता नभएकाले नै दिने रहेछ । जिम्मेवारीचाहिँ व्यक्ति, समाज र राज्य सबैको हुँदो रहेछ,’ उनले भनिन्, ‘जब हाम्रा मुद्दाहरु स्वीकारिन्छन्, तबमात्रै हाम्रो सम्मान हुन्छ । नत्र त विभेद कहाँ हुँदैन ? त्यसको पनि आफैं विरोध गर्न सक्नुपर्छ ।’

संसार चियाउने हुट्हुटीले कलाकार !
घरअगाडि गुम्बा भए पनि अमीर बोम्जन कहिल्यै त्यहाँ पुग्न पाएनन् । नजिकै हरियो फैलिएको पहाड थियो, उक्लिन पाएनन् । पाठशाला थियो, अक्षरसँगै यात्रा गर्न पाएनन् ।
कारण थियो, बोम्जनको जन्मजात घाँटीभन्दामुनिको भाग नचल्नु । जहाँ देख्थे अँध्यारोमात्रै देख्थे, जे सोच्थे एक्लोपनबाहेक केही पनि अनुभव गर्दैन थिए ।
तर, अमीर त्यही एक्लोपनको बलमा उभिएर आज अन्तर्राष्ट्रियस्तरको कलाकार बनाएका छन् । गीतकार, गायक बनाएका छन् ।

‘जब एक्लो थियो, एकान्त थियो । साथी खोज्दा साथी भेटिँदैन थियो । केवल सुनसानमात्रै थियो । र, त्यो सुनसानभित्र पनि कतै आवाज आएकोजस्तो । बतासले बालोएजस्तो, रुखका पातले बोलाएजस्तो महसुस हुन्थ्यो,’ अमीर सुनिए, ‘चाहना थियो या थिएन, आफ्नो एक्लोपन भुलाउन कोशिष गरिरहें । प्रकृतिलाई साथी बनाएर गीत गाउने लय हाल्ने भएर गीत गाउने भएको हुँ, चित्र बनाउने भएको हुँ ।’

पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा अमीरको चित्रकला पनि प्रदर्शनमा छ ।
आफूले सधैं देख्ने गरेको तर, कहिल्यै टेक्न नपाएको घर नजिकैको गुम्बाबाट आफूले कलायात्रा सुरु गरेको बोम्जन सुनाउँछन् । ‘मेरै घरबाट हेरिराखेको गुम्बा थियो । त्यो गुम्बामा पुग्न मन लाग्थ्यो, आफ्नो कुरा सुनाउन मन लाग्थ्यो,’ उनले भने, ‘टाढाबाट भगवानले मेरो कुरा सुनेन भन्ने लाग्यो । अचानक गुम्बाकै स्केच बनाइसकेको रैछु ।’

बोम्जनले घर नजिकै माथिको अनिता लामा ‘दिदी’बाट अक्षर सिक्ने मौका पाएको सुनाए । त्यहीबेल सिकको अक्षरले नै आज आफूलाई यो स्थानसम्म उभ्याउन पाएको बताए ।

‘चित्र गर्दा कति रमाइलो लाग्थ्यो, मनको पीडा चोट, भोगाइ आउँथ्यो । पीर आउँथ्यो । तर, बाहिर ल्याउन सकेको थिएन । तर, पछि भूकम्प (२०७२) आयो । त्यतिबेला मैले आफूमा पनि केही कला छ है भन्ने जान्ने मौका पाएँ,’ उनले भने, ‘गिलासमा पानी भएर पनि फैलिन पाएको छैन भन्ने लाग्यो । भूकम्प आएर गिलासलाई लडाइदियो र पानी जताततै फैलियो ।’
बोम्जनले आफ्नो कलामा भावना र प्रकृतिको संयोजन नै धेरै प्रयोग हुने बताए । सानैदेखि सधैं आफू एक्लै बस्नुपर्दा आफ्नो पेन्टिङमा पनि त्यही भाव भल्कने उनको भनाइ थियो ।

‘आमा काममै, बुवा बाहिर । भाइ पढ्न जान्थ्यो । मसँग हुन्थ्यो त केवल भित्ता, यही वरिपरिको प्रकृति हो,’ उनले भने, ‘त्यसैलाई मैले साथी बनाए, मित्रता गाँसे । यही प्रकृतिलाई प्रेम गरेरै पेन्टिङमा यही देख्न पाएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर