अब के हुन्छ रेशम चौधरीलगायतलाई छुटाउन देउवा नेतृत्वकाे सरकारले ल्याएको अध्यादेश ?

सरकारले ल्याएका अध्यादेशहरु राष्ट्रपतिले रोक्न नमिल्ने विज्ञहरुले बताएका छन् । विज्ञहरुले सरकारले पेस गरेको अध्यादेशलाई राष्ट्राध्यक्षले जारी गर्नैपर्ने बताएका हुन् । उनीहरुले राष्ट्राध्यक्षले अध्यादेश जारी गर्दा संविधान उल्लंघन भए पनि त्यसको जिम्मेवारी सरकार र संसदले लिनुपर्ने बताए ।

सरकारले गत मंसिर २५ गते मुलुकी फौजदारी अपराधसंहिता संशोधन ल्याएको थियो । मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्नेगरी अध्यादेश ल्याएको बताएको थियो । सरकारको अध्यादेशपछि रेशम चौधरी पक्षधर कार्यकर्ताहरुले रेशम चौधरीलक्षित सरकारको अध्यादेश पारित गर्न ढिलाइ गर्न नहुने दबाब दिँदै आएका थिए ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकार टुटेसँगै अहिले पुनः सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको अध्यादेश के हुन्छ भन्ने जिज्ञासा आम मानिसमा छ । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले संसद अधिवेशन नभएको अवस्थाको बेलामा सरकारलाई कुनै पनि कानून शून्यताबाट निमिट्यान्न गर्न र शून्यता नहोस् भन्न सरकारलाई अध्यादेश जारी गर्ने स्वविवेकीय अधिकार हुने बताए । उनले सरकारले सिफारिस गरेको अध्यादेशलाई स्वीकृत गर्नुपर्ने संसदीय शासन प्रणालीको परम्परा भएको बताए । उनले जुन समयमा अध्यादेश ल्याइएको हुन्छ त्यो समयमा सरकारले राखेका उद्देश्यहरु पूरा भएमा भविष्यमा संसदले पारित नगरेको खण्डमा पनि भइसकेको कामलाई अन्यथा नहुने बताए ।

त्यस्तै संघीय संसद सचिवालयका पूर्वसचिव मुकुन्द शर्माले विद्यमान संविधानले मन्त्रीपरिषद्को सिफारिसमा सदन नचलेको अवस्थामा सिफारिसमा गएको अध्यादेश राष्ट्रपतिले जारी गर्नुपर्ने व्यवस्था रहेको बताए । उनले सरकारबाट राष्ट्रपतिसमक्ष पुगेको अध्यादेश जारी नभए संवैधानिक सर्वोच्चताको कुरा गर्न असहज हुने बताए । उनले वि.सं.२०४७ सालको संविधानमा र वि.सं. २०६३ मा राजा सन्तुष्ट नभएको अवस्थामा भन्ने वाक्यांश भएपनि संविधानमा अहिले भने सन्तुष्ट नभएको भन्ने वाक्यांश नरहेको बताए । उनले सरकारबाट पठाएको अध्यादेश जस्तो भए पनि राष्ट्रपतिले स्वीकृत गर्नैपर्ने बताए ।

पूर्वसचिव शर्माले अध्यादेश जारी भएर खारेज नभएको अवस्थासम्म संसदले अस्वीकार गरे पनि वा खारेज नै भए पनि जारी गरिसकेपछि कानूनतः सबै वैध हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर