सांसदहरूले तलबसहित केके पाउँछन् सेवा सुविधा ?

निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन् ।साथै प्रथम चरणमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ ।

पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि सभाको पहिलो बैठक बस्नेछ । अहिले प्रतिनिधि सभामा युवा सांसदहरूको उपस्थिति पनि बाक्लो छ । नयाँ दल, नयाँ सांसदका कारण संसद्मा कस्तो रौनकता छाउला भन्ने कौतूहलता आम मानिसमा बढेको नै छ । यससँगै आम सर्वसाधारण नागरिकमा अर्को चासको विषय बनेको विषय हो, सांसदहरूको तलब भत्ता । सांसदहरूले केके सेवा सुविधा पाउँछन् ? तलबबाहेक पनि अन्य सेवा सुविधा के पाउलान् भन्ने सबैको चासो छ । न्यूज एजेन्सी नेपालले यससम्बन्धी आम सर्वसाधारणको चासोलाई मेटाउने प्रयास गरेको छ ।

प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमिकको रूपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै मासिक रूपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रूपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन् ।

त्यस्तै आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरूले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरूले ९ हजार रुपैयाँ मात्र पाउँछन् । सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ । सांसदहरूले समिति र सभाको बैठकमा उपस्थित भएपछि बैठक भत्ता बापत १ हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतको लागि भनी थप १ हजार रुपैयाँ पाउनेछन् ।

थप सुविधाको रूपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतिय श्रेणी सरहको स्वकीय सचिव नियुक्त गर्न दिनेछ । स्वकिय सचिवको सेवा सुविधा स्वयं स्वकीयको नै खातामा हालिदिने गरिएको छ । सांसदहरूले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमण भत्ताबापत २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन् । त्यसैगरी देशको प्रतिनिधित्व गर्दै अथवा संसद्को कामको सिलसिलामा विदेश जानुपरेमा संसद् सचिवालयको सिफारिसमा राहदानी विभागले कूटनीतिक राहदानी उपलब्ध गराउने छ ।

त्यस्तै सांसदहरूले उपचार खर्च पनि पाउने गरेका छन् । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद् सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ । त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिलअनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन् ।

सांसदहरूले पेस्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ताबापतको रकम बढीमा ३ महिनासम्मको लिन सकिने व्यवस्था रहेको छ । विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको र राष्ट्रिय सभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा १ वर्षसम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ ।

(यो समाचार सामग्री संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलासँगको कुराकानीमा आधारित रही तयार पारिएको हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *