जसपा संसदीय दलको नेता चुनिएपछि रामसहाय, ‘संसद्मा पार्टीको भूमिकालाई सशक्त बनाउँछु’

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसद्मा पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन् ।

बुधबार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसद्मा सशक्त ढंगले उठाउने बताएका हुन् ।

उनले पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने बताए । उनले जसपा वर्तमान परिवर्तन र संघीयताको वाहक भएको भन्दै आफूहरुले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताए ।

उनले मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिलालगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि उल्लेख गरे ।

उनले संसदीय दलको नेताको रुपमा पार्टीको विधान र पार्टीको निर्देशनअनुरुप संसदमा भूमिका खेल्ने बताए । उनले आफुले इमानदारिता र निष्ठाका साथ काम गर्ने पनि बताए ।

नेता यादवले पार्टी सरकारमा जाने, नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने स्पष्ट पारे ।

बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव बुधबार पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । उनको मात्रै उम्मेदवारी दर्ता भएपछि दलको नेतामा उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *