शिक्षाविद्हरू भन्छन्, ‘शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशाप्रतिको आकर्षण घट्दो’

शिक्षाविद्हरुले नेपालको शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित शिक्षा नीति संवाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरुको कमी भइरहेको र शिक्षकहरुमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए । विज्ञहरुले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको बताए ।

कार्यक्रममा बोल्दै शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मधेस प्रदेशका जिल्लामा शिक्षक मागेजति पनि उम्मेदवार नपाएको बताए । उनले खोजेजति योग्य शिक्षकहरु पाउन नसकेको भन्दै सरकारले यसप्रति गम्भीर बन्नुपर्ने बताए । उनले सामान्य परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरु पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले विद्यालय स्तरको शिक्षाले तत्काललाई मात्रै नभइ एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालय स्तरमा शिक्षा प्रणालीको सुधार अति आवश्यक भइसकेको बताए । उनले विद्यालय स्तरको शिक्षालाई आवश्यक सुधार र परिमार्जन गरी योग्यता पुगेका शिक्षकहरुबाट गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताए । विद्यालयस्तरमा गुणस्तरयुक्त शिक्षा दिन नसके एउटा युग नै नष्ट हुने बताए । रेक्टर भुसालले शिक्षण व्यवसायमा आकर्षण घट्दै गइरहेको भन्दै सबैभन्दा पहिला शिक्षाको गुणस्तर बढाउन सक्नुपर्ने र देशका हरेक क्षेत्रमा शिक्षाको गुणस्तरलाई गम्भीर रुपमा लिन आवश्यक रहेको बताए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकहरुलाई प्रशिक्षण दिन आवश्यक भएको बताए । उनलेृ विकासशील देशहरुमा शिक्षकहरुलाई योग्य बनाउनका लागि सरकारले विभिन्न शैक्षिक तालिमहरु दिने गरेको तर नेपालमा भने आवश्यक तालिमहरु हुन नसकेको गुनासो गरे । उनले तालिम दिँदा पनि विषयगत वा सामान्य तालिमका बारेमा सरकारले चासो राख्न आवश्यक रहेको बताए ।

उनले वर्तमान अवस्थामा शिक्षकलाई विषयवस्तु, विज्ञानसम्मत कुराहरुको बारेमा अपडेट गराउन आवश्यक भइसकेको बताए । उनले नेपालको शिक्षामा पढाइलेखाइमा पनि समस्या रहेको बताए । उनले शिक्षाका विषयवस्तु र पाठ्यक्रमसँगै पढाइलेखाइको तौरतरिकाहरुमा पनि सुधार गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्नका लागि सरकारले तालिम दिने संस्था छुट्टै बनाउन नसकेको गुनासो गरे । उनले सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकहरुमा गुणस्तर हुन नसकेको बताए । उनले अन्य मुलुकमा विश्वविद्यालयलाई कस्तो शिक्षक बनाउने र कस्तो तालिम दिने ? तालिम दिँदा कस्तो शिक्षकलाई दिने भन्ने बारेमा सोच्नुपर्ने बताए ।

उनले सरकार शिक्षक बनाउने कुरामा स्पष्ट नीतिका साथ अघि बढ्न नसकेको पनि बताए । उनले नेपालमा अगाडि गएर बोर्डमा अक्षर लेख्ने मान्छेलाई शिक्षक भनेर बुझ्नु नै गलत रहेको बताए ।

कार्यक्रममा शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वविद्यालयहरुले गर्ने कामहरुमा समेत सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने बताए । उनले विश्वविद्यालयका पदाधिकारीहरुले नै गर्नसक्ने कामलाई नगरेर अरुको टाउकोमा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्ने बताए । उनले शिक्षा सेवा आयोगले नै लाइसेन्स दिएका शिक्षकहरु विषयगत परीक्षामा अनुत्तीर्ण भएका कारण अहिलेको समस्या आइरहेको भन्दै आयोगले लाइसेन्स दिने बेलामा ध्यान किन नदिएको भन्दै प्रश्न गरे ।

उनले नीति अनुसन्धान प्रतिष्ठान अपडेट हुन नसकेको गुनासो गरे । उनले विश्वमा शिक्षकको अभाव भइरहेको भन्दै बाहिरी मुुलुकमा शिक्षक आह्वान भइरहेकाले आकर्षण दिएर नेपालले पनि बाहिरी मुलुकका शिक्षकहरु नेपालमा भित्र्याउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीले शिक्षकहरुमा आवश्यक तलवमान नहुनु, शिक्षण पेशालाई गाउँ र समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक नदेखिनुले शिक्षण पेशामा आकर्षण घटेको बताए । उनले युवा पुस्तामा शिक्षण पेशामा अकार्षण नहुनु, शिक्षामा राजनीति हुनु, नेपालमा शिक्षाको सही पहिचान हनु नसक्दा पनि शिक्षा क्षेत्रमा समस्या बढ्दै गइरहेको बताए । उनले संस्कृत गुरुकुलहरुको नतिजा समयमा हुन नसक्नु र पाठ्यपुस्तकहरु नपाइनुले संस्कृत शिक्षामा कमी भइरहेको बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेपालमा शिक्षक नभएको, भएका शिक्षकहरुमा गुणस्तर नभएको र गुणस्तर शिक्षकहरुलाई आवश्यक पहिचान र संवर्द्धन हुन नसक्ने समस्या प्रचुर रहेको बताए । उनले शिक्षा क्षेत्रलाई गुणस्तरयुक्त बनाएर लैजानका लागि शिक्षा नीतिको सुधार आवश्यक भएपनि शिक्षा नीति सुधारका लागि मन्त्रालय तयार रहेको बताए । सरकारले शिक्षा नीति ल्याएको र अब सरकारको शिक्षा नीतिको कार्यान्वयन गरेर अघि बढ्न आवश्यक भएको बताए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले सरकारले बनाएका नीति कार्यान्वयनको चुनौती रहेकाले सबैले कार्यान्वयनको पक्षमा अघि बढ्न आवश्यक रहेको बताए । उनले उच्च शिक्षालाई कसरी गुणस्तर बनाउने भन्ने सन्दर्भमा देशको करिकुलम लगायतका विषयवस्तुमा ध्यान दिनुपर्ने बताए । उनले सम्बन्धित निकायहरु शिक्षा क्षेत्रमा परिमार्जन र विषयवस्तुहरुलाई नयाँ तरिकामा अघि बढाउन नसक्ने कमजोरी रहेको बताए । उनले नेपालमा शिक्षकहरुले शिक्षण पेशालाई ज्ञान दिने कुरा भन्दा पनि जागिर खाने कुरामा जोड दिएकाले शैक्षिक गुणस्तरमा कमी आएको बताए ।

उनले शिक्षकहरुले पनि आफू शिक्षक भइसकेपछि समाजलाई परिवर्तन गर्नसक्ने भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरालाई आफ्नो दायित्व सम्झेर अघि बढ्न सक्नुपर्ने बताए । उनले शिक्षकहरुले समाजप्रतिको उत्तरदायित्व वहन नगरेसम्म शिक्षामा सुधार हुन नसक्ने बताए ।

कार्यक्रममा सहभागी अन्य शिक्षाविद्हरुले शिक्षक बन्नको लागि न्यूनतम शैक्षिक ज्ञान हुन आवश्यक रहेको बताए । उनीहरुले शिक्षकहरु छनोट गर्ने प्रक्रिया प्राकृतिक नभएको गुनासो गरे । उनीहरुले अभिभावक र विद्यालयबीचको सम्बन्ध सत्तापक्ष र प्रतिपक्षको जस्तो देखिएकाले अभिभावक संघले यसमा आफ्नो भुमिकाप्रति उत्तरदायी बन्न आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर