खोटाङमा अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण पुस १७ गतेदेखि खोटाङ सुरु हुँदैछ । दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

जिल्ला तथा जिल्ला बाहिरका १० वटा टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको पहिलो खेल नेर्पा स्पोर्टस क्लब नेर्पा र एजुकेटेड इनरुवा इभेन्ट सुनसरीबीच हुने भएको छ । दोस्रो खेल दिक्तेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।

माउण्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा हुने प्रतियोगिताको तेस्रो खेल चियाबारी फुटबल क्लब इलाम र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीच हुने भएको छ । पुस २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको चौथो खेल खारम्बु स्पोर्टस् क्लब खार्मी र मानेभञ्ज्याङ स्पोर्टस् क्लब ओखलढुङ्गाबीच हुने जनाइएको छ ।

गोल्डकप विजेता टिमले रु दुई लाख ५१ हजार, उपविजेताले रु एक लाख ११ हजार, सेमिफाइनका दुई टिमले रु २५÷२५ हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिए ।

पहिलो र दोस्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिडका कारण तेस्रो संस्करण लम्बिएको आयोजकले जनाएको छ । प्रथम संस्करणमा रु एक लाख ११ हजार एक सय ११ र दोस्रो संस्करणमा एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार राशि राखिएको थियो । यसअघिका दुई संस्करण गोल्डकपका रुपमा सञ्चालन भएको अनुप स्मृति गोल्डकपलाई यसपटक आयोजना गरिएको तेस्रो संस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।

माउण्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूलको नर्सरीमा अध्ययनरत अनुप राईको विसं २०६८ जेठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोक नजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थीको सम्झनामा प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *