अंग्रेजी नयाँ वर्षको अवसरमा ‘ठमेल सडक महोत्सव’ हुने

ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यू इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरूलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गरेको बताए । उनले महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने बताए ।उनले सडक महोत्सव नगरीकन आम सर्वसाधारणहरुलाई ठमेल लैजान नसक्ने बताए ।

अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक सांगीतिक कार्यक्रमदेखि सांस्कृतिक सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिने पनि बताए । उनले अंग्रेजी नयाँ वर्षको कार्यक्रममा १ लाख दर्शक भित्र्याउने अपेक्षा बताए । १ लाख दर्शकहरूको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको बताए । सडक महोत्सवका लागि हरेक रेष्टुराँहरूले आफ्ना प्याकेजहरू सामाजिक सञ्जालबाट जानकारी गराइसकेको पनि बताए ।

उनले सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिबद्धता जनाए । उनले सडकमा नै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाउने बताए । नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र ठूलो हुने बताए । उनले ठमेललाई पर्यटकीय नगरीको रूपमा सरकारले घोषणा गर्नुपर्ने बताए । उनले ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय नगरी बनाउन राज्यले पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने बताए ।

न्यू इयर इभ तथा ठमेल सडक महोत्सव २०७९ साल पुस १६ गते शनिबार ठमेल केशरमहल सञ्चयकोष अगाडि साँझ ५:३० बजेबाट सुरु भई मध्यरातिसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने आयोजकले जनाएको छ । महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, सांगितिक कार्यक्रम, ठमेलका व्यवसायीहरूले उत्पादन गरेका विभिन्न सामग्रीहरूको प्रदर्शन हुनेछ । परिषद्ले न्यू इयर इभ तथा ठमेल सडक महोत्सवका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर