हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठिरहेको छ : मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एभिएशन मिट–२०२२ कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रश्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

उनले हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठिरहेको बताए । उनले पछिल्लो समय हवाई उडान हेर्ने निकायहरु फरक हुनुपर्छ भन्ने विषयमा धेरै बहस भएपनि निस्कर्षमा नपुगेको बताए । मुख्यसचिव बैरागीले नियमन निकाय नियम,कानूनको पालना भए, नभएको हेर्ने महत्त्वपूर्ण खम्बा भएको बताए । उनले उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउनको लागि प्राप्त दक्ष जनशक्ति र आर्थिक स्रोत आवश्यक पर्ने बताए ।

उनले नेपालमा हवाई उड्डयन क्षेत्रमा बनेका पूर्वाधार दीर्घकालीन सोचको साथ बनाएको बताए । मुख्यसचिव बैरागीले नेपालमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल चल्न सकेन भनेर चिन्ता लिन नहुने भन्दै दीर्घकालिन सोचका साथ बनाएकाले भविष्यमा राम्रो हुने बताए । उनले निजगढ विमानस्थलको विषयमा धेरै बहस भएपनि निस्कर्षमा पुग्न नसकेकाले छिटै टुङ्गो लगाएर जानुपर्ने उल्लेख गरे । उनले पछिल्लो समय नेपालको हवाई उड्डयन क्षेत्रमा धेरै उल्लेख्य प्रगति भएको बताए ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले हवाई इन्धनको मूल्य तत्कालै समायोजन गर्नुपर्ने बताए । महानिर्देशक अधिकारीले नेपाल आयल निगमले हवाई इन्धनमा अधिक नाफा लिएकाले हवाई भाडा महँगिएको बताए । उनले अहिले निगमले हवाई इन्धनमा ७८ रुपैयाँ नाफा लिँदै आएको बताए ।

महानिर्देशक अधिकारीले हुम्ला, जुम्ला, सिमिकोटमा हवाई यात्राका लागि १ रोपनी जग्गा बेच्नुपर्ने अवस्था रहेको बताउँदै यस्तो बेलामा एलपी ग्यासमा छुट दिएर हवाई यात्रुलाई मारमा पार्न नहुने जिकिर गरे । उनले नेपालको हवाई नीति विमानस्थलहरुको नम्बर बढाउने तर जहाजको नम्बर बढाउनेतर्फ भने ध्यान नगएको बताए । उनले हवाई क्षेत्रको विकास सरकारको हवाई नीतिको कारण हुन नसकेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *