पुसको जाडोमा नेपथ्यले ततायाे काठमाडाैं

पुसको जाडोमा नेपालको चर्चित सांगीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौंका दर्शकलाई आफ्नो सांगीतिक प्रस्तुतीले ततायो । मानवता प्रवर्द्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौंको यो यसपालिको अन्तिम वा १०औं संगीत यात्रा थियो ।

देश दौडाहाका क्रममा जिल्लाका नौवटा कार्यक्रम सकेर काठमाडौं भित्रिएको नेपथ्यले भृकुटीमण्डपमा झण्डै पाँच हजार संगीत पारखीलाई मज्जाले झुमायो । नेपथ्यका नायक एवं मुख्य गायक अमृत गुरुङले दर्शकले भरिएको भृकुटीमण्डपमा राष्ट्रिय भावनाले ओतप्रोत तथा सदावहार पुराना र चर्चित लोकपप गीत प्रस्तुत गरे । उनी संगीतको दुनियाँमा छुट्टै ब्याण्ड लोकपप संगीतका साथ दर्शकसामु ३३ वर्षदेखि सक्रिय छन् । देश–विदेशमा नेपथ्यको छुट्टै पहिचान छ ।

चिसो मौसममा प्रस्तुत उनका गीतमा दर्शक धुलो उडाएरै नाचे । त्यसो त गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको हुन्छ । आफ्नै संगीतमा गायक आफैं चुर्लुम्म डुबेपछि दर्शकले भरपूर साथ दिए । दमदार प्रस्तुति भन्दै दर्शकले तारिफ गरे । दर्शकले गुरुङका हरेक गीत पुनः सुन्न चाहे ।

नेपथ्य ब्याण्डको प्र्रस्तुतिको मजा लिन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेपाल सरकारका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारी सरिक थिए । ओली र थापाले त कार्यक्रम अवधिभर साथ दिए ।

गायक गुरुङका ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘उडायो रेलैले’, ‘जोमसोमै बजारमा’, ‘शिरफूल शिरैमा’, ‘यो जिन्दगी’ , ‘गाउँगाउँबाट उठ’लगायत गीतले दर्शकलाई उचाल्यो । ‘जिन्दगानी’ गाउँदा पृष्ठभूमिमा प्रस्तुत भएको आश्रममा आश्रित बेसहारा तथा असहायको तस्बिरले दर्शकलाई सोच्न बाध्य पार्‍याे । शनिबार नै गायक गुरुङको जन्मदिन परेकाले दर्शकदीर्घाबाटै ‘ह्याप्पी बर्थडे’को शुभकामना लगातार आइरह्यो । गायक गुरुङले शिर निहुर्‍याएर सबैलाई धन्यवाद दिए । गीत संगीतको बीचबीचमा सन्देशमूलक भावना व्यक्त गरी उनलेसामाजिक सचेतना जगाउने काम पनि गरे ।

कसैले नगरेको काम मानवसेवा आश्रमले गरेकाले आफ्नो तर्फबाट सक्दो सहयोग गरेर पुण्य कमाउन र मानवसेवा आश्रमले निर्माण गरिरहेको भवन (मानवताको मन्दिर) मा सहयोग गर्न गायक गुरुङले मञ्चबाटै आह्वान गरे । उनले भने, ‘मानवसेवाका लागि आश्रमलाई धन हुनेले धन दिउँ, नहुनेले श्रम दिउँ ।’

त्यसपछि उनले ‘जोगले हुन्छ भेट’, ‘मै नाचेँ छमछमी’ पछि ‘रेशम’ र ‘तालको पानी’ गाउँदा दर्शकले थप मच्चीमच्ची नाचेर मनोरञ्जन लिए । प्यारापिटमा रहेका पूर्वप्रधानमन्त्रीसहितका अतिथिले तालीले साथ दिए । गायक गुरुङले बेलाबेलामा गायकी रोकेर उपस्थित राजनीतिज्ञलाई इंगित गर्दै अब देश विकासमा एकीकृत भएर लाग्न र विकासको मूल फुटाउन आग्रह गरे । उनले मुलुकको विकास हामी आफैंले गर्ने हो भन्ने सन्देश पनि बाँडे । गायक गुरुङले नेपालमा रोजगारी सिर्जना गरी विदेश जानबाट रोक्नका लागि पनि राजनीतिक नेतृत्वलाई आग्रह गरे ।

मानवता प्रवर्द्धनका लागि गत मंसिर १९ गते विराटनगरबाट सुरु भएको नेपथ्य संगीत यात्राले पुस १६ गते शनिबार काठमाडौंमा आएर विट मार्‍याे । यसअघि मंसिर १९ गते वीरगञ्ज, २२ गते हेटौंडा, २५ गते चितवन, २९ गते नेपालगञ्ज, पुस ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल र पुस १२ गते पोखरामा नेपथ्य गुञ्जिएको थियो । हरेक कार्यक्रममा कम्तीमा पाँच हजारदेखि आठ हजारसम्म दर्शक सहभागी भएका थिए ।

कार्यक्रम मानवता प्रव्द्धनका साथै मानवसेवा आश्रममा आश्रितका लागि खाना, नाना र छाना जुटाउन, देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि कोसेढुंगा हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । एक दशकअघि २०६९ सालमा स्थापना भएको उक्त आश्रममा हाल एक हजार छ सय सडकआश्रित व्यक्ति संरक्षित छन् । देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे व्यक्ति नरहने अवस्था सिर्जना गर्ने योजना अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर