राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको ‘प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।

उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिकलगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए । लामो संर्घर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उनको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे । उनले आफूहरूले गरेको हिसाबकिताबले काम नगरेको बताए । उनले विगतमा आफूहरूका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताए । देशमा अस्थिरताको शृंखला अगाडि बढेको उनले बताए ।

वरिष्ठ नेता पौडेलले सांसदहरूलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रूपमा पठाइने भए पनि सांसदहरू विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताए । जनताले पनि सांसदहरूलाई विकासे कार्यकर्ताको रूपमा बुझ्दा समस्या भएको बताए । जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरू पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

उनले संविधानले दिएजति अधिकार स्थानीय तहले पाउन नसकेको बताए । केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसकेका कारण स्थानीय तहहरूले अधिकार नपाएका उनको भनाइ छ । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री तथा मन्त्रीहरूले सबै कुरा आफैंमा केन्द्रीकृत हुने प्रवृत्ति प्रस्तुत गरेका बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर