‘रेमिट्यान्स, निर्यात र पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्न सके मात्रै मुलुकको अर्थतन्त्र बलियो’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सके मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनीमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स, निर्यात र पर्यटन तीन वटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सके मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् ।

उनले सरकारले रेमिट्यान्स भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताए । उनले अर्थतन्त्रको तीन वटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गरे ।

अध्यक्ष गोल्छाले सरकारले विदेशी मुद्रा आर्जनका लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले बैकिङ प्रणालीमा तरलताको अभाव र शोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताए । उनले अहिले विदेशी मुद्राको आयस्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिनुपर्ने सुझाव दिए ।

अध्यक्ष गोल्छाले नेपाली निर्यातजन्य वस्तुहरूको उत्पादनमा वृद्धि गर्न आवश्यक रहेको बताए । उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठूलो चुनौती भएको उल्लेख गरे । उनले सरकारले निर्यात प्रोत्साहनका लागि नगद अनुदानको व्यवस्था गरे पनि निर्यातकर्ताहरूले सहज रूपमा पाउन नसकेको गुनासो गरे । अध्यक्ष गोल्छाले नेपालमा कस्ट अफ डुइङ बिजनेस बढिरहेकाले नेपाली निर्यातजन्य वस्तुहरूलाई प्रतिस्पर्धी बनाउन नसकिएको बताए । उनले निर्यातकर्ता सरकारले दिने अनुदान सहज रूपमा पाउनका लागि एस्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको बताए ।

निर्यात परिषद्ले २५औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरमा दुई दिने नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छायाँ सेन्टरमा सुरु गरेको छ । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । प्रदर्शनीमा २० वटा स्थलहरू राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *