ग्लोबल आईएमई र बीओकेको एकीकृत कारोबार पुस २५ गतेदेखि

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको (बीओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ ।

दुवै बैंकले गत मंसिर २३ गते सम्पन्न साधारण सभाबाट एकआपसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आईएमई बैंकका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं. २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैंक अफ काठमाण्डूको एक सय कित्ता शेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आईएमई बैंकको एक सय कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप तीन खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ र कर्जा तीन खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटीएम तीन सय २८ पुग्नेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्नेछन् । साथै मर्जरपश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूका तर्फबाट दुई जना रहने सहमति भएको थियो ।

तीन दिन सेवा बन्द
पुस २५ गते एकीकृत कारोबार अगाडि बैंक अफ काठमाण्डू लिमिटेडले तीन दिन सेवा बन्द गर्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै डाटा माइग्रेशन प्रयोजनका लागि पुस २२ देखि २४ गतेसम्म सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *