आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्ति आवश्यक : परराष्ट्रविद् आचार्य

परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

आर्थिक कूटनीतिमा मुलुक पछि परिरहँदा पूर्वपरराष्ट्रसचिवसमेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताएका हुन् ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण मुलुकको आर्थिक कूटनीति फलदायी हुन नसकेको पनि स्पष्ट पारे ।

उनले आर्थिक कूटनीति कार्यान्वयनका लागि नीतिगत रूपमा स्पष्ट धारणा तय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । मुलुकमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको समेत परराष्ट्रविद् आचार्यको भनाइ थियो । उनले मुलुकको आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यकतासमेत औंल्याए ।

परराष्ट्रविद् आचार्यले आर्थिक कूटनीतिका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गराउन पनि आवश्यक रहेको बताए ।

बैठकमा विमला राई पौडेललगायतका सांसदहरूले आर्थिक कूटनीतिलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभवबारे परराष्ट्रविद् आचार्यसँग जिज्ञासा राखेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर