माघे संक्रान्ति नजिकिएसँगै तरुल र चाकुको व्यापार फस्टायो

माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछापलगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूले बताए।

कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तिमा मात्रै पाउने सिजन भएकाले पनि संक्रान्तिको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताए। उनले मानिसहरू कतिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने बताए। उनले अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट गायतका जिल्लाहरूबाट तरुलहरू धेरै आइरहेको बताए।

त्यस्तै कालीमाटी तरकारी तथा फलफूल बजारमा नै काँक्रोको व्यापार गर्दै आएकी अप्सरा सिलवाल भने अरू बेला काँक्रो मात्रै व्यापार गर्ने भए पनि यसपटक भने सिजन रहेकाले तरुल मगाएर व्यापार गरेको बताउँछिन्। उनले माघे संक्रान्तिका लागि आफूले नवलपरासीबाट २ गाडी तरुल ल्याएको बताइन्।

उनले गत वर्ष र यस वर्ष तरुलको भाउमा फरक नरहेको बताइन्। उनले यस वर्ष विगतको वर्षमाभन्दा धेरै तरुल भित्रिएकाले भाउ केही सस्तो हुनसक्ने बताइन्। उनले पछिल्लो केही दिनयता तरुलहरू बजारमा बाहिरबाट धेरै आइरहेकाले भाउ सस्तो पर्नसक्ने बताएकी हुन्। बाहिरबाट तरुल ल्याउन नदिएको खण्डमा भने महँगो पर्नसक्ने उनको भनाइ छ।

माघे संक्रान्ति नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको पनि उत्पादन र व्यापार बढेको छ। जाडोमा गर्मी बढाउने अर्थात् शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ। चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरू बताउँछन्। माघे संक्रान्तिको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरालगायत खाएर हर्षोल्लाससहित माघे संक्रान्ति पर्व मनाउने गरिन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर