२० लाख धरौटी बुझाएर थुनामुक्त भए सन्दीप लामिछाने

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन्।

उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन्। लामिछानेलाई विभिन्न शर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरवलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।

लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा शर्त राखेको छ। ती शर्त उल्लंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्क्रिय हुने भनिएको छ।

पाटन उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो। लामिछानेका कानून व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए। लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो। लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए। लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर