गण्डकीमा सभामुखको निर्वाचन भोलि, गठबन्धनबाट माओवादीका धिताल उम्मेदवार

सत्तारूढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन्। नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले गोरखा क्षेत्र नं. १ (१)बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

सो दलका नेता एवं प्रदेश सरकारका बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिए।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ। यहाँ नेकपा(एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबण्डा गरिएको थियो। सोहीअनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेश सभाबाट विश्वासको मत पाइसकेका छन्। गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ।

सभामुख चयनका लागि प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन। कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ। ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा(एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर