स्त्रीरोग विशेषज्ञलाई प्रश्न, ‘बाँझोपनको समस्या किन हुन्छ?’

पछिल्लो समय नेपालसहित विश्वभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ। पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ। त्यस्तै महिलामा डिम्बाशय नलीको बन्द हुने, डिम्ब ननिस्कने, नलीमा खराबी हुने, जन्मजात नै पाठेघरमा खराबीले गर्दा सन्तान नहुने गरेको डाक्टरहरू बताउँछन्। हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ। तर, अध्ययनले भने सन्तान नहुनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबर रहेको पुष्टि गरेको छ। बच्चा नहुने समस्यामा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष जिम्मेवार हुन्छन्। ३४ प्रतिशत अन्य कारणले असर गर्ने अध्ययनबाट प्रमाणित भएको छ।

पछिल्लो समय जीवनशैली, मानसिक समस्या र धेरै युवा वैदेशिक रोजगारीमा गएकाले यो समस्या बढ्दै गएको अध्ययनले देखाएको छ। निःसन्तानको समस्या लिएर अस्पतालमा उपचारमा आएकाहरूमा ८५ प्रतिशतको उपचारपछि बच्चा हुन्छ। बाँकी १५ प्रतिशतमा भने अन्य समस्या देखिने गरेको छ। उनीहरूलाई इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रजनन समस्या भएका मानिसलाई बच्चा जन्माउन मद्दत गर्ने प्रविधिमार्फत उपचार सम्भव भएको चिकित्सकहरूको भनाइ छ। यसै सन्दर्भमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. श्वेता सिंहसँग कुराकानी गरेको छ। डा.सिंह जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत छिन्।

कस्ता खालका समस्याका कारण निःसन्तानको समस्या देखिन्छ?
कुनै पनि दम्पतीले एक वर्षसम्म सम्बन्धमा बस्दा कुनै किसिमको अस्थायी साधन प्रयोग नगर्दा पनि बच्चा हुन सकिरहेको छैन भने त्यस्ता दम्पतीहरूलाई निःसन्तानको समस्या भएको अथवा बाँझोपनको समस्या भएको भनेर बुझ्न सक्छौं। यो बाँझोपनको समस्या श्रीमती वा श्रीमानमा मात्रै समस्या देखिएर हुने होइन। समस्या श्रीमान वा श्रीमतीमा पनि हुनसक्छ। दुवैमा पनि हुनसक्छ। बाँझोपन आउनुमा श्रीमतीको डिम्बाशयमा समस्या छ वा पाठेघर वा पाठेघरको दुवैतिरको डिम्बाशयमा समस्या देखिएको छ भने निःसन्तानको समस्या हुने हो। केहीगरी डिम्बाशयमा समस्या देखिएको छ, डिम्बाशयमा सिस्ट, ट्युमर हुनसक्छ। पोलिटिक्स पोलियन डिजिज भनिन्छ। त्यो समस्या छ भने राम्रो अण्डा ननिस्किने, समयमा अण्डा नफुट्ने समस्या देखापर्ने हुनसक्छ। पाठेघरको दुवै वा एकतर्फको नली ब्लक वा खुला छ भने बच्चा गर्भधारण गर्न समस्या आइरहेको हुनसक्छ। पाठेघरको कुरा गर्दा पाठेघरमा मासु पलाएको छ, कि त भित्र क्यापिटीमा केही पलिपहरू छ, पाठेघर सुनिएको छ भने पनि यस्तो समस्याहरू आउँछ। पाठेघरको मुखको कुरा गर्दा महिलाको योनी ब्लक छ भने शुक्रकीट माथि जान पाउँदैन। पाठेघरको मुखको कुरा गर्दा लामो वा ट्युमरको कारणले ब्लक भएको छ भने पनि शुक्रकीट माथि जान पाउँदैन र बाँझोपन हुनसक्छ।

पाठेघरमा मासुहरू पलाएको छ वा भ्रूण बस्ने ठाउँमा इन्टरमेटिभ पलिपहरू छ भने पनि बच्चा बस्न अवरोध गराइरहेको हुन्छ। पाठेघरको नलीमा पानी भरिएको वा ब्लक भएको छ भने बच्चा बस्न समस्या हुन्छ। किनकि अण्डाहरू नलीहरूमा आउनुपर्ने हुन्छ। सम्पर्क राखिसकेपश्चात् शुक्रकीटहरू माथि गएर नलीसम्म आउनुपर्ने हुन्छ। नलीमा शुक्रकीट र अण्डाको मिलन भएर भ्रूण बन्ने हुन्छ। बनेको भ्रूण फेरि पाठेघरमा आएर वाल्सहरूमा टाँसेर बच्चा बस्ने हुन्छ। नलीमा नै ब्लक भयो भने अण्डा र शुक्रकीट मिलन हुन पाएन। त्यो हुँदा महिलामा बाँझोपन हुनसक्छ। योबाहेक श्रीमतीमा थाइराइड,डाइबेटिज र अन्य समस्याहरू भयो भने बाँझोपन हुनसक्छ। श्रीमानको कुरा गर्दा सबैभन्दा पहिला शुक्रकीटको कुरा आउँछ। शुक्रकीटको संख्या राम्रो छैन, संख्या राम्रो भए पनि त्यसको चालहरू राम्रो छैन, बनावटहरू राम्रो छैन भने बाँझोपन हुनसक्छ। श्रीमानमा पनि थाइराइड,डाइबेटिज र अन्य समस्याहरू भयो भने बाँझोपन हुनसक्छ। कि त श्रीमान श्रीमतीलाई नै यौनसम्पर्क राख्दा ग्राहो भएको छ, त्यो समस्याको कारण पनि बाँझोपन भइरहेको हुन्छ।

पहिला निःसन्तान हुँदा भन्न डराउने गरेका थिए, तर पछिल्लो समय अस्पतालहरूले यो सेवा दिन थालेसँगै मानिसहरू अस्पतालमा आउने गरेका छन्। तपाईंहरूकोमा धेरै कस्ता कस्ता प्रकृतिका समस्या लिएर आउँछन्?
अहिलेसम्म आफ्नो प्राक्टिसमा देखेअनुसार कोही गर्भधारणका विषयमा जानकारी दिन आउनुहुन्छ। उहाँहरूले बच्चा जन्माउने योजना बनाउनुभएको हुँदैन। तर, बच्चा जन्माउनको लागि दुवै जना श्रीमान श्रीमती स्वस्थ छौं कि छैनौं र अगाडि योजना बनाउन मिल्छ कि मिल्दैन भनेर आइरहनुभएको हुन् । यो खुशीको कुरा हो। यो विषयमा जानकारी लिनुपर्ने समाजमा हुनुपर्ने हुन्छ। बच्चा योजनाबिना झुक्किएर बसेको हुन्छ। योजना बनाउँदा राम्रो बच्चा जन्मने हुनसक्छ। बाँझोपन भएर ३ वर्षसम्म योजना बनाएका वा एक वर्ष पनि नभएकाहरू पनि बच्चा के कारणले नभएको भनेर आउने गरेका छन्। कतिपय मानिसहरूलाई बाँझोपन हुन्छ भन्ने कुराहरू थाहा नभएको पाइन्छ। बाँझोपनको समस्या समाधानका उपायहरू छन् भन्ने कुराहरू पनि थाहा छैन उनीहरूलाई। ८ देखि १० वर्षसम्म बच्चा नभएर बच्चा बनाउन कोसिस गरिरहेका पनि आउने गरेका छन्। अस्पतालमा सबै मिक्स प्रकृतिका समस्या भएका बिरामीहरू आउने गरेका छन्। कोही १० देखि २० वर्षसम्म बच्चा नजन्मेपछि किन नभएको रहेछ भनेर डाक्टरलाई देखाउन भनेर आउने गरेका छन्। उनीहरूलाई बाँझोपनसम्बन्धी जानकारी नभएर नै अहिलेसम्म बस्ने गरेको हुनसक्छ।

अल्काले केही समय पहिले बाँझोपनसम्बन्धी शिविर क्याम्प राखेको थियो, विगतमा भन्दा कस्तो पाउनुभयो?
पाँच दिनको बाँझोपनसम्बन्धी क्याम्प थियो। त्यसमा निःशुल्क उपचारहरू गरेका थियौं। क्याम्पमा बाँझोपन भएका बिरामीहरूले टेष्टट्युब बेबी गर्नुपर्ने बुझिइरहेको पायौं। तर, त्यस्तो होइन। बाँझोपनको समस्या हुने बित्तिकै श्रीमान श्रीमतीलाई इन्भेस्टिगेट गरेर हेर्छौं। पहिला श्रीमान वा श्रीमतीमा कस्तो समस्या छ भनेर छुट्याउनुपर्ने हुन्छ। उनीहरूलाई औषधीहरू मात्रै दिएर पुग्छ कि यौनसम्पर्क राख्ने समय भनिदिए पुग्छ। धेरैको समय नमिल्दा बच्चा नभएको हुनसक्छ। उहाँहरूले आईबीएफतिर जानुपर्ने हो। दुवै जनालाई इन्भेस्टिगेट गरेपछि के गर्ने भनेर निर्णय लिन मिल्छ। १५ वर्षदेखि अस्पतालहरूमा भौंतारिरहेका बिरामी आउनुभएको थियो। डिम्बाशयको नलीमा ब्लक भइरहेको केसहरू भेटिए। त्यस्तोको लागि अन्य उपाय गरेर हुँदैन, त्यसको लागि टेष्ट्युब बेबीतिर जानुपर्ने हुन्छ। अहिले आईबीएफ र टेष्ट्युब बेबी चाहिने धेरै बिरामीहरू पाएको छु।

अहिले बाँझोपनको समस्या बढ्दै गएको भन्ने देखियो होइन?
पछिल्लो समय नेपालका महिला, पुरुषहरूमा बाँझोपन बढ्दै गएको भन्ने देखिएको छ। पछिल्लो समय आईबीएफको समस्या बढ्दो रूपमा छ। विगतको जस्तो अहिले शुद्ध खानाहरू पनि पाउँदैन। लाइफ स्टाइल (जीवनशैली) परिवर्तन रहेको छ। वायु प्रदूषण बढ्दो छ। यी सबै बाह्य कारणहरू भए। यसले गर्दा अहिले कतिपय मानिसहरूलाई मेडिकल समस्या आउने हुन्छ। थाइराइड, डाइबेटिज र अन्य प्रेसरको कारण समस्या बनाएको हुन्छ।

बाँझोपन समस्या समाधान कसरी गर्ने त?
बाँझोपन समस्या समाधानको विषयमा कुरा गर्दा दुवै जना दम्पतीहरूको रगतको जाँचदेखि, महिलाको भिडियो एक्स–रेदेखि श्रीमानको शुक्रकीटको जाँच गर्नुपर्ने हुन्छ। सबै परीक्षण गरेर के कारण बाँझोपन भयो भनेर थाहा पाएपछि सबैभन्दा पहिला मेडिकल परीक्षणमा कहिलेकाहीँ यौनसम्पर्क गर्दा समय मात्रै नमिल्दा बाँझोपन भइरहेको हुन्छ। सम्पर्क राख्ने समय एउटा, अण्डा फुटेर निस्किसकेर आफैँ मरेर गइसकेको हुन्छ। अर्को मेडिकल परीक्षणपछि दम्पतीको लागि अण्डा र शुक्रकीट राम्रो हुने औषधी राख्छौं। त्यो औषधी ३ देखि ६ महिना खाँदा राम्रो भएको हुन्छ। कतिपयलाई मेडिकल औषधीले काम नगरिरहेको अवस्था हुन्छ। त्यस्तो बिरामीलाई आईवाईतिर लैजान्छौं। युटायुटयाम इम्सेमिनेसनमा हामीले महिनावारी भएको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बाशयमा अण्डा बनाउने औषधी खान दिन्छौं। त्यसपछि अल्ट्रासाउण्ड गर्दै डिम्बाशयमा अण्डाको साइज कत्रो भयो भनेर हेर्छौं।

बाँझोपन भएर अस्पताल जान नसक्नेहरूको लागि के भन्नुहुन्छ?
दुर्गम क्षेत्रका पनि अस्पतालमा आउने गर्नुभएको छ। बाँझोपन भनेको लुकाएर राख्ने कुरा होइन। लुकाएर कसैको परामर्श नलिई श्रीमान श्रीमतीसँग मात्रै सीमित राख्नुभयो भने मेडिकल उपचारबाट बच्चा पाउनसक्ने अवसर गुमाउनुहुन्छ। त्यस्तो छ भने आफ्नो वरपर भएको राम्रो बाँझोपनसम्बन्धी डाक्टरहरूसँग परामर्श लिएर आफ्नो कुरा खुलस्त रूपमा बोल्नुस्। आफ्नो समस्या डाक्टरलाई शेयर नगरेसम्म उपचारको योजना पनि पाउनुहुन्न। डाक्टरहरूले सल्लाह दिएर राम्रो बच्चा पाउने क्षमता हुन्छ। त्यो क्षमता डाक्टरहरूसँग सल्लाह नलिँदा वञ्चित हुनुहुन्छ जस्तो लाग्छ। बाँझोपनसम्बन्धी डाक्टरसँग परापर्श गर्नु उपयुक्त हुन्छ। डाक्टरहरूले जसलाई बच्चा चाहिन्छ उहाँहरूलाई मात्रै बाँझोपन समस्याको उपचार गर्ने हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *