कुन दलबाट कोको बन्दैछन् मन्त्री?

सत्ता साझेदार दलहरूले मन्त्रालय भागबण्डा टुंग्याएसँगै दलहरूले आ–आफ्ना दलबाट बन्ने मन्त्रीहरूको पनि टुंगो लगाइरहेका छन्। सोमबार राति बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाएको हो।

यससँगै मंगलबार नेकपा (एमाले) का ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका छन्।

एमालेबाट परराष्ट्रमन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरी स्वास्थ्यमन्त्री बन्न लागेका छन्। बाँकी २ जनाको नाम टुंगो लाग्न बाँकी छ।

माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, अमनलाल मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटनमन्त्री बन्ने भएका छन्।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान शहरी विकास मन्त्री बन्न लागेका छन्। अर्का एक मन्त्रीको टुंगो लाग्न बाँकी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ। यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन्।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डीपी) लाई पठाउने तयारी छ। अर्याल रास्वपाका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिकतर्फबाट सांसद भएका थिए।

पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको शपथ लिँदा तीन जना उपप्रधानमन्त्रीले शपथ लिएका थिए।

उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री, विष्णु पौडेल अर्थमन्त्री र रवि लामिछाने गृहमन्त्री भएका थिए।

सोही दिन ज्वालाकुमारी साह, दामोदर भण्डारी राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री बनेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *