सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित

सुदूरपश्चिम प्रदेशको उपसभामुखमा सत्तारुड गठबन्धनकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् ।

कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी एमालेकी चौधरी मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् ।

माओवादीकी लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेश सभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो ।

चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् ।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेश सभा सदस्य माया पन्तलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो । पन्तको पक्षमा २४ र विपक्षमा २८ मत खसेको थियो ।

पन्तलाई नेपाली कांग्रेसका १९, नेकपा(एकीकृत समाजवादी)का ४ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले मतदान गरेका हुन् ।

उनी एकीकृत समाजवादीकी कञ्चनपुरबाट निर्वाचित समानुपातिक प्रदेश सभा सदस्य हुन् । मंगलबार बिहान बसेको प्रदेश सभाको बैठकले सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई निर्वाचित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर