मलाई पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट छैन : ऊर्जामन्त्री लिङ्देन

उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन्। शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरू भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरूमा सहयोग पुग्ने आशा गरेको बताए। उनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरूका फाइल घुमिराख्ने लालफित्ताशाहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताए।

उनले देशभित्रका उद्योगी, व्यापारीहरूलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरूलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे। उनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए।

मन्त्री लिङ्देनले नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिए। उनले विद्युतीय सामग्रीहरूको बढी प्रयोग गरेर विद्युत् खपत बढाउनुपर्ने बताए। उनले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताए।

उनले देशभित्रै उद्योगधन्दा बढीभन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताए। उनले आगामी दिनमा देशमा उद्योगधन्दाको व्यापक विस्तार हुनुपर्ने बताए।

मन्त्री लिङ्देनले सरकारमा आफ्नो पार्टी प्रवेश गरेसँगै विभिन्न शंका र उपशंकाहरू गरिएको भन्दै सरकारमा बसेर शंकाहरू चिर्ने बताए।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी स्टलहरू रहने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर