साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरूको पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरूको पहुँच विस्तार गरी तिनै तहका उद्योगहरूले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताए। उनले गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरू दर्ता भएकोमा ६५ हजार ६९ एसएमई उद्योगहरू दर्ता भएकाले यो संख्या अझै बढ्नसक्ने विश्वास व्यक्त गरे।

उनले साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको बताए। उनले बैंकहरूको महँगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौती भइरहेको बताए। उनले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने बताए।

उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गरे। उनले कबि ५० प्रतिशत उद्योगहरू दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे। उनले कतिपय उद्योगहरू झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको बताए।

अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको मागअनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपालले एसएमई उद्योगबाट ठूलो आर्थिक उन्नति गर्ने सम्भावना रहेको बताए। अध्यक्ष गोल्छाले एसएमई क्षेत्रलाई बलियो बनाउनुपर्छ भन्ने राजनैतिक र नीतिगत प्रतिबद्धता नहुँदा प्रभावकारी काम हुन नसकेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *