‘संसदीय भूमिका प्रभावकारी बनाउन प्रतिनिधि र प्रदेश सभाबीच अनुभव आदानप्रदान हुनुपर्छ’

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताएका छन्।

सोमवार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरूसँग कुरा गर्दै उनले संसदीय भूमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताएका हुन्।

उनले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरू बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण अपm्ठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ती कुराहरूको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताए। उनले ऐन कानूनहरू ठीक समयमा ठीक ढंगले बन्नुपर्ने बताए। कुनै पनि कानूनको अभावमा जनताको काममा अवरोध हुन नहुने उनले बताए।

सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्त्वपूर्ण भूमिका रहेनमा विश्वास रहेको बताए। उनले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको सुरुवात भएको बताए। संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भूमिका खेल्ने उनको भनाइ छ।

सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरूसँग छलफल गर्दा आफूहरूलाई पनि समावेश गराउन आग्रह गरे। उनले पूर्वसभामुख तथा पूर्वउपसभामुखको रूपमा आफूहरूले हासिल गरेका अनुभवहरूले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पुर्‍याउने बताए।

संयोजक शाहीले सभामुखले संसद्को गरिमा र महत्त्वलाई स्थापित गराउने अपेक्षा आफूहरूले गरेको बताए। उनले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा बहस र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गरे।

वाग्मती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरूले गरेका कामको समीक्षा हुनुपर्ने बताए। उनले प्रदेशमा बन्न बाँकी रहेका कानूनहरू बनाउनका लागि संघले पनि घच्घचाउनुपर्ने बताए।

उनले आगामी दिनमा छलफलहरू गर्दा आफूहरूलाई पनि समावेश गराउन र अनुभवहरूको आदानप्रदान गर्न अनुरोध गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर