सूर्य नेपाल गल्फ टुर : उपाधिका लागि दिनेश र रमेश भिड्ने

सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीएजीए म्याच प्लेको उपाधिका लागि दिनेश प्रजापती र रमेश अधिकारीबीच प्रतिष्पर्धा हुने भएको छ ।

बुधवार रोयल नेपाल गल्फ क्लवको कोर्समा भएको अन्तिम चारको भिडन्तमा १३ औं वरियताका रमेश अधिकारीले १० औं वरियताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान पक्का गर्दा अर्को खेलमा सातौं वरियताका दिनेश प्रजापतीले आठौं वरियताका धनबहादुर थापालाई पनि २/१ ले पछि पार्दै फाइनलमा स्थान बनाएका हुन् । सूर्य नेपाल टुरमा करियरकै पहिलो उपाधि जित्ने दाउमा रहेका दिनेश अब मात्र एक कदम टाढा रहेका छन् ।

दिनेश र रमेशले उपाधिका लागि बिहीवार ३६ होलमा गर्नेछन् भने धन र भुवनले तेस्रो स्थानका लागि १८ होलका लागि प्रतिष्पर्धा गर्नेछन् । यसअघि बुधवार नै भएको अर्को क्वाटरफाइनलमा नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरियताका भुवन नगरकोटी, तेस्रो वरियताका जयराम श्रेष्ठ र पाँचौ वरियताका रवि खड्का पराजित भए ।

शुक्रलाई वरियताको १० औं स्थानमा रहेका भुवनकुमार रोक्काले ३/१ ले पराजित गरे । अर्को क्वाटरफाइनलमा धनबहादुर थापाले भुवनलाई ३/२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । यसैगरी दिनेश प्रजापतीले तेस्रो वरियताका जयराम श्रेष्ठलाई ३/२ ले स्तब्ध बनाए । पूर्व नम्बर एक खेलाडी रवि खड्कालाई १३ औँ वरियताका रमेश अधिकारीले पराजित गरे । रमेशले पाँचौं वरियताका रविलाई ३/२ को नतिजामा पराजित गरेका हुन् ।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भए पनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगितामा सबै स्पर्धाका विजेताले कुल २ लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार पाउनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर