सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

सातौं वरीयताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्।

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औं वरीयताका रमेश अधिकारीलाई ७–६ ले हराउँदै दिनेश उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै दिनेशले ६० हजार रुपैयाँ प्राप्त गरे। दोस्रो भएका रमेशले ४२ हजार रुपैयाँ हात पारे।

सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा ४ होलको अग्रता बनाए। १८ होलको समाप्तिमा दिनेश आठ होलको फराकिलो अग्रता बनाउन सफल रहे। खेलमा फर्कने संकेत देखाएका रमेशले १९औं, २०औं, २१औं र २२औं होल लगातार जित्दै दिनेशको अग्रतालाई चार होलमा घटाए।

दिनेशले २३औं होल जित्दा रमेशले २४औं र २५औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाइ तीन होलमा झारे। तर २६औं र २७औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५ होलको अग्रता बनाए। यसपछि दिनेशले २९औं र ३०औं होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए।

प्रतियोगितामा आठौं वरीयताका धनबहादुर थापा तेस्रो भए। १८ होलको प्रतिस्पर्धा बराबरीमा टुंगिएपछि धनले प्लेअफको पहिलो होलमा १०औं वरीयताका भुवनकुमार रोक्कालाई पराजित गरे। तेस्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार रुपैयाँ प्राप्त गरे।

क्वार्टरफाइनलमा पराजित चार खेलाडीहरू नेपाल नम्बर एक प्रो शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौं वरीयताका रवि खड्काले जनही समान ११ हजार रुपैयाँ प्राप्त गरे।

यसैगरी पहिलो चरणबाट बाहिरिएका टंकबहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीपकुमार लामा, सञ्जय लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई र रामे मगरले जनही समान ६ हजार रुपैयाँ प्राप्त गरे।

गत सिजनको उत्कृष्ट १६ प्रोफेशनल गल्फरले प्रतियोगितामा भाग लिने भए तापनि चार खेलाडी देशबाहिर रहेकाले उत्कृष्ट २० सम्मका खेलाडीले भाग लिएका थिए। सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५० हजार रुपैयाँ रहेको थियो।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्राण्ड म्यानेजर विदूरराज अधिकारीले पुरस्कार वितरण गरे। सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२–२३ सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्थित हिमालयन गल्फ कोर्षमा फाल्गुन १० गतेदेखि आयोजना हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर