बजेटको अर्धवार्षिक समीक्षाको तयारी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ। मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ।

मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। उनका अनुसार समितिले गत पुस मसान्तसम्मको बजेट समीक्षाको प्रतिवेदन पेस गर्नुपर्नेछ। समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले चालुु आवको बजेटको समीक्षा गर्नेछ।

बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्यको नेतृत्वमा नेपाल राष्ट्र बैंक, योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनकि ऋण व्यवस्थापन कार्यालयबाट एक÷एक जना प्रतिनिधि, अर्थ मन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका सबै उपसचिव सदस्य रहेका छन्।

मन्त्रालयअन्तर्गतका विभिन्न शाखाका आठ/आठ जना सहसचिव र उपसचिव उक्त समितिको सदस्य रहेका छन्। सरकारले चालु आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। जसमा कुल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ अर्थात् २१ दशमलव दुई प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२ दशमलव आठ प्रतिशत विनियोजन गरिएको छ। त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बजेट छुट्याइएको छ।

अनुमान गरिएको खर्चको स्रोत बेहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड रुपैयाँ, वैदेशिक ऋणबाट दुई खर्ब ४२ खर्ब २६ करोड रुपैयाँ र दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण गरी कुल चार खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने उल्लेख छ।

गत आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएकोमा त्यसलाई घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँ बराबरको बनाइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर