क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको छ : अध्यक्ष अन्सारी

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको बताएका छन्।

शुक्रबार मुस्लिम समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले तराई, पहाड र हिमालमा बस्ने मुस्लिमहरूलाई विभाजित बनाउने प्रयास भइरहेको भन्दै क्षणिक फाइदाका लागि पूरा समुदायलाई नै खतरा हुने काम नगर्न आग्रह गरेका छन्।

अध्यक्ष अन्सारीले कोही व्यक्तिको क्षणिक लाभ र लोभमा परेर अहिलेसम्म मुस्लिम समुदायले पाएका उपलब्धिहरू गुम्न नदिन सचेत गराए। उनले मुस्लिम आयोगसँग काम गर्नका लागि आवश्यक जनशक्ति र बजेट नभएको गुनासो पनि गरे।

उनले मुस्लिम आयोगमा काम गर्ने कर्मचारी एक जना पनि मुस्लिम नहुनु दुःखद् रहेको बताए। उनले मुस्लिम आयोगलाई बजेट र भत्ता सिध्याउने आयोगको रूपमा आरोप लगाइरहेको भन्दै आयोगको उद्देश्य नीति नियम लागू गर्ने रहेको र त्यसमा आयोग दत्तचित्त भएर लागिपरेको बताए।

अध्यक्ष अन्सारीले मुस्लिम समुदायको प्रतिनिधत्व गर्ने सांसदहरूले संसद्मा जोडपूर्वक मुस्लिम समुदायका मागहरू उठाउन सक्नुपर्ने बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिफ साहले आफू खान नपुगेर र नाम कमाउनका लागि राजनीतिमा नआएको बताए। उनले संसद्मा आफू उपस्थित हुँदा आफ्नो समयको अवमूल्यन भएको बताए।

उनले प्रतिनिधि सभाको बैठकमा नीति नियमको बारेमा छलफल हुनुपर्ने ठाउँमा एकले अर्कालाई घोचपेच गर्ने काम मात्रै भइरहेको बताए। उनले पार्टी सभापतिलाई आफूले १ वर्षभित्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जनमुखी काम गर्न नसके सांसद पद छोड्ने भनिसकेको स्पष्ट पारे।

सांसद साहले संसद्लाई मर्यादित बनाउन आफ्नो पार्टीले संसद् महासचिवसँग आग्रह गरेको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको अवस्था परिवर्तनका लागि आएको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *