श्रमिकलाई हवाई भाडामा छुट र एक पटक खानाको व्यवस्था गर्न आग्रह

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामा छुट र एक पटक खानाको व्यवस्थापनका लागि सरोकारवाला निकायलाई पत्राचार गरेको छ ।

विभागले श्रमिकलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वैदेशिक रोजगार सङ्घ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभललाई पत्रमार्फत हवाई टिकटमा खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।

मलेसिया तथा मध्यपूर्वका मुलुकमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समयभन्दा तीन घण्टाअगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले श्रमिकले घण्टौँसम्मको यात्रामा न्यूनतम खाना, खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई बोलाएर व्यवस्था गरिदिन आग्रह गरेको बताए ।

उनका अनुसार ती देशमा जाने श्रमिकले बिजनेस एयरलाइन्स नाममा मूल्य चर्को तिर्नुपर्ने तर न्यूनतम खाना, खाजा तथा पानी पनि नपाउँदा श्रमिक भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेको गुनासो श्रमिकबाट आइरहेको छ ।

विभागले सरोकारवाला निकायलाई पत्रमार्फत जहाजको टिकट तथा टिकटमा खाना, खाजा र पानीको अनिवार्य सुविधा तोक्न आग्रह गरेको छ ।

त्यस्तै विभागले पत्रमार्फत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्राधिकारभित्र रहेको काम गर्न सचेतसमेत गराएको छ । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *