उत्कृष्ट कार्यसम्पादन गर्ने भक्तपुरका २४ जना प्रहरी पुरस्कृत

आफूलाई दिइएको जिम्मेवारी इमानदार, बफादार र कर्तव्यनिष्ठ भई उत्कृष्ट ढंगले पूरा गर्ने भक्तपुरका २४ जना प्रहरी पुरस्कृत भएका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत वृत्तहरू र प्रभागहरूमा कार्यरत रही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई तोकिएको जिम्मेवारीमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी पुरस्कृत भएका हुन्। परिसर प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीले आइतबार उनीहरूलाई नगद पुरस्कार प्रदान गरेका हुन्।

यसरी पुरस्कृत हुनेमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी नायब उपरीक्षकसहित १३ जना, प्रहरी वृत्त ठिमीबाट प्रहरी निरीक्षकसहित ५ जना र प्रहरी वृत्त जगातीबाट प्रहरी नायब निरीक्षकसहित ६ जना गरी कुल २४ जना रहेका छन्।

पुरस्कृत प्रहरी कर्मचारीले आमनिर्वाचनमा उत्कृष्ट भूमिका निर्वाह, अपराध रोकथाम, नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गर्ने, बालसुधारबाट फरार बाल बिज्याइँकर्तालाई खोजतलास गरी पक्राउ गर्ने, राजमार्गमा ट्राफिक प्रहरीसँग समन्वय गरी प्रभावकारी सडक सुरक्षा व्यवस्था प्रवाह गर्ने, लागुऔषध नियन्त्रण एवं पक्राउ गर्नेलगायत कार्य गरेको जनाइएको छ।

यसरी पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्यसम्पादन गर्न उत्प्रेरित हुने विश्वास प्रहरीले लिएको छ।

साथै यस आर्थिक वर्षमा प्रहरी आचरणविपरीत कार्य गर्ने, ड्युटीमा मादक पदार्थ सेवन गरी लापरबाही गर्ने, आफुखुशी कार्यालय छोडी अनुपस्थित रहने ७ जना प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीबमोजिम सेवाबाट हटाउने, दर्जा घटुवा, बढुवा रोक्का, नसिहदजस्ता कारबाहीसमेत गरिएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर