संकटमा सुदूरपश्चिम प्रदेश सरकार, नागरिक उन्मुक्तिले विश्वासकाे मत नदिने

गठन भएकाे एक महिनाभित्रै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेकाे छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिँदैछन्। तर, सरकार गठनका लागि निर्णायक शक्ति मानिएकाे नागरिक उन्मुक्ति पार्टीले रावल नेतृत्वकाे सरकारलाई विश्वासको मत नदिने बताएको छ।

प्रदेश सभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिए। प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिन लागेका हुन्। त्रिपन्न सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिको रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले  सरकारले पार्टीकाे माग सम्बोधन नगरेकाले विश्वासको मत नदिइने बताइन्। रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन। बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन।

यस्तै नेकपा (एकीकृत समाजावदी)ले पनि विश्वासको मत नदिने बताएको छ। एमालेका युवा नेता एवं प्रदेश सभा सदस्य धर्मराज पाठकले भने मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे।

तर, रावलले विश्वासको मत पाउनका लागि कांग्रेस र नागरिक उन्मुक्ति पार्टीमध्ये एउटा पार्टीको मत अनिवार्य जस्तै छ। त्यस्तो नभएमा नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदसहित सबैले मत दिनुपर्छ। त्यस्तो अवस्थामा दुवै पक्षमा २६ मत हुन्छ। यस्तो वातावरण बनेपछि निर्णायक मत सभामुखले दिएमा मात्रै एमालेका रावलले विश्वासको मत पाउँछन्। यस्तो वातावरण बन्ने सम्भावना भने कम छ।

प्रदेश सभामा सत्तापक्षीय नेकपा (एमाले)का दश, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर