ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन तयार भयाे एन्फा

शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ। नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौँ खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरूले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो।

ए डिभिजनका अधिकांश क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए। खेलाडी थप गर्ने मागलगायत सहीद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताए।

उनले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न माग गरेअनुसार अब क्लबले ५ जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताए। प्रवक्ता साहले टिममा एक जना एसियाली र एक जना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको पनि बताए।

उनले भने, ‘पहिला क्लब र एन्फाको सहमति ४ जना विदेशी खेलाडी राख्न पाउने सहमति गरेका थियौँ। तर पछिल्लो समय खेलाडीहरू विदेश गइरहेको र नेपालमा क्लब लिग खेल्ने खेलाडीहरूको अभाव भएको भन्दै क्लबहरूले एन्फासँग विदेशी खेलाडीको कोटमा बढाउनुपर्ने माग गर्नुभएको थियो। एन्फा र क्लब पदाधिकारीबीच बुधवार बसेको बैठकमा यस विषयमा छलफल गरी अब हामीले ५ जना विदेशी खेलाडी क्लवमा समावेश गर्न पाउने निर्णय गरेका छौँ। जसमा पनि एक जना दक्षिण एसियाली र अर्को एक जना एसियाली खेलाडी हुनैपर्ने नियम बनाएका छौँ। तर क्लबले एउटा खेलमा ४ जना मात्रै विदेशी खेलाडीहरूलाई खेलाउन पाउने प्रावधान छ।’

राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लवहरुले सामूहिक रूपमा विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लबले आफ्नो मागसहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए।

पछिल्लो समय राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी अष्ट्रेलिया पुगेका छन्। तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्या समेत बढ्ने क्लबको चिन्ता छ।

सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लबहरूले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए।

सहीद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लवले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो। विदेशी खेलाडीको कोटा थप भएसँगै सुरुवाती-११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ।

एक जना विदेशी खेलाडी भने बेन्चमा रहनेछन्। नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ।

लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ। लिगका लागि पाँचौँ चरणसम्मको तालिका पनि सार्वजनिक भइसकेको छ।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेल खुमलटार युथ क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *